कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाले अभियानको प्रस्ताव गरेका हुन्। उनले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गरिने बताए।
कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधान गर्न तयार पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्ने थापाको भनाइ थियो। महाधिवेशनका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्ने उनले बताए।
महाधिवेशनबाट पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्याइने उनले जानकारी दिए। प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे।





