१४ कार्तिक २०८३, शुक्रबार

झापामा चार लाख ५१ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र

ड्रागन मिडिया सम्वाददाता

झापा जिल्लामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएको छ। तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाका परिचयपत्र केन्द्रबाट प्राप्त भएकामा एक लाख एक हजार ८४४ वटा कार्ड वितरणका लागि तयारी अवस्थामा छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीका अनुसार मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका वा काम विशेषले जिल्ला बाहिर रहेका व्यक्तिले कार्ड लिन नसक्दा वितरण हुन बाँकी रहेको हो। परिचयपत्र लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने व्यवस्था रहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय भद्रपुर तथा इलाका प्रशासन कार्यालय गौरीगन्ज र दमकबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता र कार्ड वितरण हुँदै आएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जिल्लामा २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ। यस अवधिमा तीन हजार ७७८ जनालाई नागरिकता वितरण, चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि र तीन हजार १३९ जनालाई राहदानी वितरण गरिएको छ। पाँच हजार ७३६ जनाका लागि राहदानी सिफारिस गरिएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन ‘फेसलेस सेवा’ र बाँकी आवेदन शून्यमा झार्ने अभियान सञ्चालन गरिएको बताए। पुराना आवेदनको चाप घटाउन बिहानैदेखि र बिदाका दिनसमेत सेवा दिइएको उनले जानकारी दिए। उनका अनुसार अहिले आवेदन दिएको दिनमै विवरण दर्ता र जैविक विवरण सङ्कलन गर्ने सुविधा उपलब्ध छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button