विपद प्रतिकार्यका लागि नेपाललाई १५ करोड अमेरिकी डलरभन्दा बढीका उपकरण दिने अमेरिकाको घोषणा

ड्रागन मिडिया समाचार कक्ष
नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले प्रधानसेनापति अशोक राज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी र विपद पूर्वतयारी तथा प्रतिकार्यमा अमेरिकी सहयोगबारे छलफल गरेकी छन्।
अमेरिकी राजदूतावासका अनुसार बोल्डिनले गत अगस्टको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरेकी थिइन। बाढीबाट प्रभावित समुदायको पुनःस्थापनामा सहयोग जारी रहेको पनि उनले बताइन्।

भेटमा बोल्डिनले विपद प्रतिकार्य क्षमता बलियो बनाउन अमेरिकाले १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकप्टर, मानवरहित विमान र नदीमा चल्ने उद्धार डुङ्गा उपलब्ध गराउन लागेको जानकारी दिइन्। ती उपकरणको आपूर्ति आगामी वर्षदेखि शुरु हुने दूतावासले जनाएको छ।
यस सहयोगले गत शरद ऋतुमा अमेरिकाले उपलब्ध गराएका ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमानमा थप योगदान गर्नेछ। ती विमानले राहत कार्यमा सहयोग गर्दै आएका छन्।
अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञताले खोज तथा उद्धार, घाइतेको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता बढाउन मद्दत पुग्ने दूतावासको भनाइ छ। यसबाट विपदका बेला जीवन जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई थप क्षमता प्राप्त हुने अपेक्षा गरिएको छ।





