१४ कार्तिक २०८३, शुक्रबार

टिकटकले तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटायो

ड्रागन मिडिया समाचार कक्ष

टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा सामुदायिक निर्देशिका उल्लङ्घन गरेको भन्दै २० लाख ३६ हजार १९१ भिडियो हटाएको जनाएको छ। ती भिडियो नेपालबाट अपलोड गरिएका कुल भिडियोको ०.४ प्रतिशत रहेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

टिकटकका अनुसार प्रयोगकर्ताले उजुरी गर्नुअघि नै स्वचालित प्रणालीबाट ९९.५ प्रतिशत भिडियो पहिचान गरी हटाइएको थियो। हटाइएका मध्ये ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए। थप समीक्षापछि गल्तीले हटाइएका ३३ हजार ५०३ भिडियो पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ।

विश्वभर सोही अवधिमा सामुदायिक निर्देशिका उल्लङ्घन गरेको भन्दै १८ करोड ८२ लाख ९८ हजार १४१ भिडियो हटाइएको थियो। यो प्लेटफर्ममा राखिएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो। तीमध्ये १८ करोड ३३ लाखभन्दा बढी भिडियो स्वचालित प्रणालीबाट पहिचान गरी हटाइएका थिए। विश्वव्यापी रूपमा ९९.५ प्रतिशत सामग्री प्रयोगकर्ताको उजुरीअघि नै हटाइएको र ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको प्रतिवेदनमा उल्लेख छ। थप समीक्षापछि ६२ लाख ६२ हजारभन्दा बढी भिडियो पुनःस्थापना गरिएको थियो।

प्रतिवेदनअनुसार टिकटकले विश्वभर १४ करोड ६८ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षमुनिका बालबालिकाका भएको आशङ्कामा दुई करोड ६८ लाखभन्दा बढी खाता बन्द गरेको छ। नियम उल्लङ्घन गर्ने २७ करोड ८३ लाखभन्दा बढी टिप्पणी पनि हटाइएको कम्पनीले जनाएको छ।

प्रत्यक्ष प्रसारणतर्फ नियम उल्लङ्घनका कारण कुल प्रसारणको २.४ प्रतिशत रोकिएको थियो। त्यस्तै, सात करोड ६७ लाखभन्दा बढी प्रत्यक्ष प्रसारण र दुई करोड ६७ लाखभन्दा बढी प्रसारणकर्तामाथि कारबाही गरिएको प्रतिवेदनमा उल्लेख छ। कारबाहीमा चेतावनी दिने र आम्दानी गर्ने सुविधा रोक्ने लगायतका कदम समावेश छन्।

प्रयोगकर्ता तथा सामग्री सर्जकका लागि सुरक्षित वातावरण बनाउने र प्रतिवेदनमार्फत पारदर्शिता कायम राख्ने प्रतिबद्धता टिकटकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button