नरैनापुरमै करदाता सेवा केन्द्र सञ्चालन

ड्रागन मिडिया सम्वाददाता
नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा आएको छ। केन्द्र खुलेपछि स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणले करसम्बन्धी कामका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि व्यवसाय दर्ता, स्थायी लेखा नम्बर प्राप्ति तथा करसम्बन्धी प्रशासनिक काम सहज हुने बताए।
सेवा केन्द्रले आन्तरिक राजस्व कार्यालयअन्तर्गत पहिलो व्यावसायिक स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले नरैनापुर–२, बैउहवाकी जन्नतुल पठानिनलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। पठानिनको मदिना परफ्युम एन्ड जनरल स्टोरका लागि उक्त प्रमाणपत्र जारी गरिएको हो। पसलमा अत्तर तथा सुगन्धित सामग्री, सौन्दर्य प्रसाधन, साबुन र किरानाका सामानको थोक तथा खुद्रा कारोबार हुनेछ।
प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकामै सेवा पाउँदा स्थानीय व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन सहज हुने बताए। केन्द्रका शाखा प्रमुख मुकेरीले स्थानीय करदातालाई गाउँपालिकाबाटै सेवा दिने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए।





