१४ कार्तिक २०८३, शुक्रबार

सरकारी स्वास्थ्य संस्थामा जनशक्ति अभाव, भर्ना प्रक्रिया सुस्त

ड्रागन मिडिया सम्वाददाता

सरकारी स्वास्थ्य संस्थामा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था छ। जनसङ्ख्या र स्वास्थ्य संस्थाको सङ्ख्या बढे पनि जनशक्ति व्यवस्थापन पुरानै दरबन्दी संरचनामा निर्भर रहेको स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको भनाइ छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य सेवामा एक लाख चार हजार ७५६ जनशक्ति कार्यरत छन्। यसमा ५१ हजार ३८६ महिला स्वास्थ्य स्वयंसेविका समावेश छन्। सरकारी सेवामा सात हजार ३० चिकित्सक र २८ हजार ६५० नर्स तथा अनमी कार्यरत रहेको आर्थिक सर्वेक्षणको विवरणमा उल्लेख छ।

सरकारी संस्थामा कार्यरत जनशक्ति र परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या भने एउटै होइन। दर्ता भएका सबै चिकित्सक र नर्स सरकारी सेवामा कार्यरत हुँदैनन्। सरकारी सेवामा जनशक्ति अभाव देखिनुको एउटा कारण पुरानो दरबन्दी संरचना र पदपूर्तिमा हुने ढिलाइ भएको सरोकारवालाहरू बताउँछन्।

नेपाल चिकित्सक सङ्घका महासचिव डा. विश्वराज दवाडीले सरकारी स्वास्थ्य संस्थामा स्वीकृत दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको बताए। उनका अनुसार स्वास्थ्य सेवाको स्थायी संरचना करिब २० देखि २५ वर्षअघिको जनसङ्ख्यालाई आधार मानेर बनाइएको थियो। अहिले बिरामीको चाप बढे पनि दरबन्दी र पूर्वाधार सोहीअनुसार विस्तार नभएको उनले बताए।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयअन्तर्गत ९७७ थप पद स्वीकृत भइसकेका छन्। लोक सेवा आयोगले पदपूर्तिको प्रक्रिया शुरु गरेको र सिफारिस भएर कर्मचारी नआउन्जेल केही पदमा करारमा जनशक्ति राख्न थालिएको उनले बताए।

सरकारी तथ्याङ्कअनुसार देशभर ८ हजार ९७६ सरकारी स्वास्थ्य संस्था छन्। यसमा ४२० अस्पताल, १८१ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ६०३ स्वास्थ्य चौकी र ४ हजार ३४६ आधारभूत स्वास्थ्य सेवा केन्द्र समावेश छन्। स्वास्थ्य संस्था थपिए पनि चिकित्सक र नर्सको उपलब्धता सबै तहमा पर्याप्त छैन। स्वास्थ्य सेवा विभागको तथ्यपत्रमा सङ्घीय तथा प्रदेश अस्पतालमा परामर्शदाता चिकित्सकको उपलब्धता ५३.९ प्रतिशत र सामान्य चिकित्सकको उपलब्धता ३७.९ प्रतिशत रहेको उल्लेख छ।

चिकित्सक सङ्घका महासचिव दवाडीले जिल्ला तथा दुर्गम क्षेत्रका अस्पतालमा आधुनिक उपकरण र आवश्यक पूर्वाधारको कमीले पनि स्वास्थ्यकर्मीलाई त्यहाँ टिकाउन कठिन भएको बताए। उनका अनुसार विशेषज्ञ चिकित्सक उत्पादन बढे पनि जिल्ला अस्पतालमा आवश्यक उपकरण र सेवासुविधा नहुँदा ती जनशक्ति स्थानीय स्तरमा उपयोग हुन सकेका छैनन्।

सरकारले थप दरबन्दी सिर्जना, पदपूर्ति र स्वास्थ्यकर्मीलाई सेवामा टिकाउने व्यवस्था अघि बढाउनुपर्ने सरोकारवालाहरूको सुझाव छ। अस्पताल तथा स्वास्थ्य केन्द्रको सङ्ख्या विस्तारसँगै आवश्यक जनशक्ति र उपकरणको व्यवस्था नभए नागरिकले गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा पाउन कठिन हुने उनीहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button