१४ कार्तिक २०८३, शुक्रबार

तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

ड्रागन मिडिया सम्वाददाता

व्यवसायी तथा टिकटककर्मी तुलसा अधिकारीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ। उच्च अदालतको संयुक्त इजलासले बिहीबार अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाको आदेश परिवर्तन गर्नुपर्ने आधार नदेखिएको ठहर गरेको हो।

न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएको जनाएको छ। यस आदेशसँगै मुद्दाको अन्तिम फैसला नआएसम्म अधिकारी थुनामै रहनेछिन्।

अधिकारीलाई इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। ललितपुर जिल्ला अदालतले जेठ २१ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अधिकारीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्।

अधिकारीविरुद्ध आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अभियोगपत्रमा २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनीमाथि हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत तथा स्थान परिवर्तन गरेको आरोपसमेत छ।

यी अभियोग अदालतबाट अन्तिम रूपमा पुष्टि हुन बाँकी छन्। अदालतले मुद्दाको अन्तिम निरूपण गरिसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button