सिचाङका युवा जीवनलाई पर्दामा उतार्दै ल्हासाकी निर्देशक काङ्द्रुन

ड्रागन मिडिया समाचार कक्ष
काङ्द्रुनलाई आफ्नो बाल्यकाल परिभाषित गर्ने एउटा ऋतु छान्न भनियो भने उनी पक्कै गर्मी रोज्छिन्। दक्षिणपश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा जन्मेहुर्केकी यी तिब्बती निर्देशकका लागि गर्मी भनेको लामो विद्यालय बिदा र परम्परागत शोटोन उत्सवको समय मात्र होइन, लिङ्का मनाउने अवसर पनि हो। लिङ्का स्थानीय परम्परा हो, जसमा मानिसहरू खुला ठाउँमा भेला भएर वनभोज खान्छन्, गीत गाउँछन्, नाच्छन् र रमाइलो गर्छन्।
३१ वर्षीया काङ्द्रुनको पहिलो पूर्णलम्बाइ चलचित्र ‘लिङ्का लिङ्का’ अक्टोबरको मध्यतिर प्रदर्शनमा आएको छ। तिब्बती भाषामा निर्माण गरिएको १०० मिनेट लामो चलचित्रले ल्हासाको गर्मीयामको एक रातको लिङ्का जमघटलाई पृष्ठभूमि बनाउँदै मुख्य पात्र सांगेको हुर्काइ र जीवनका तीन कथा प्रस्तुत गर्छ।
“म आफ्नो जन्मथलो ल्हासालाई गहिरो माया गर्छु। ल्हासाको बोली र यहाँका आधुनिक जीवनलाई पर्दामा उतार्नु मेरो स्वाभाविक र निश्छल चाहना हो,” काङ्द्रुनले भनिन्।
चलचित्र निर्माण टोलीले सन् २०२० देखि २०२४ सम्म चार चरणमा छायाङ्कन गर्दै बाल्यकालबाट युवावस्थातर्फ अघि बढिरहेकी बालकलाकारको यात्रा अभिलेख गरेको थियो। चलचित्रलाई क्षेत्रीय साहित्य तथा कला सहायता कार्यक्रमले सहयोग गरेको थियो।
‘लिङ्का लिङ्का’ले ल्हासाबाहिर पनि दर्शकको ध्यान खिचेको छ। यसले टोकियो, हङकङ, सोची र ब्युनस आयर्समा पुरस्कार वा मनोनयन प्राप्त गरेको छ। हङकङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ५०औँ संस्करणमा यसले फायरबर्ड पुरस्कार र फिप्रेस्की पुरस्कार जितेको थियो। चलचित्र सांघाई, उडिने, बार्सिलोना र भ्यानकुभरका चलचित्र महोत्सवमा पनि छनोट भएको छ।
स्थानीय दर्शकले चलचित्रलाई “ल्हासाको वास्तविक चित्र” भनेका छन्। काङ्द्रुनले खोजेको प्रभाव पनि यही थियो—जीवन्त ल्हासा र त्यहाँका युवाको वास्तविक कथा पर्दामा उतार्नु।
“ल्हासाका युवाहरू बाल्यकालका कुरा तिब्बती भाषामा सुनाउन र भविष्यका योजना म्यान्डरिन भाषामा बनाउन उत्तिकै सहज छन्। अवसर पाए जहाँ पनि पढ्न जान्छन्, अनि गर्मीमा फर्केर घाँसे मैदानमा चटाई बिछ्याउँदै लिङ्का मनाउँछन्,” उनले भनिन्।
चलचित्रकी पात्र सांगेजस्तै काङ्द्रुन पनि अध्ययनका लागि जन्मथलो छाडेर बेइजिङस्थित सञ्चार विश्वविद्यालयमा चलचित्र निर्माण विषयमा स्नातकोत्तर पढेकी हुन्। विश्वविद्यालयमा रहँदा उनले सिचाङको पुरानो रक ब्यान्ड नामचाकबारे चलचित्र बनाउन थालेकी थिइन्। अध्ययन बिदाका बेला उनी छोटा चलचित्र खिच्न र निर्माण गर्न ल्हासा फर्किरहन्थिन्।
आफ्ना धेरै समकालीनले घरबाट टाढा बसेर पढ्ने र विविध सांस्कृतिक प्रभावबीच हुर्कने अनुभव गरेको काङ्द्रुनले बताइन्। उनका अनुसार यस्ता अनुभवले उनीहरूलाई हिमाली क्षेत्रलाई अझ वस्तुगत रूपमा हेर्न मद्दत गरेको छ।
“संस्कृति प्रवाहमा रहन्छ र त्यससँगै विकसित हुन्छ,” उनले भनिन्, “आज हामी युवाहरूले गर्ने कामले चुपचाप यो सहरलाई नयाँ रूप दिइरहेको छ।”
सिचाङमा तिब्बती भाषा प्रकाशन, सञ्चारमाध्यम र दैनिक जीवनमा व्यापक रूपमा प्रयोग हुन्छ। गत वर्ष प्रकाशित एक श्वेतपत्रअनुसार हरेक वर्ष १५ हजार घण्टाभन्दा बढी रेडियो कार्यक्रम, ८० भन्दा बढी चलचित्र र ७ हजार ३०० घण्टाका टेलिभिजन कार्यक्रम अल्पसङ्ख्यक भाषाबाट अन्य भाषामा वा अन्य भाषाबाट अल्पसङ्ख्यक भाषामा अनुवाद तथा दोभाषे गरिन्छन्।
काङ्द्रुन अहिले ल्हासामै केन्द्रित आफ्नो अर्को चलचित्र पूरा गर्ने तयारीमा छिन्। ‘ओर्लो इन द हाउस’ नाम दिइएको यस चलचित्रमा सहरको एउटा मीठो चिया पसलमा काम गर्ने तिब्बती पात्रको कथा छ।
“छायाङ्कन सकिएको छ र अहिले उत्तर-निर्माणको काम भइरहेको छ,” उनले भनिन्।





