डीडीसीमा १२ करोडभन्दा बढीको अनियमितता आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
दुग्ध विकास संस्थानमा आर्थिक अनियमितता गरी १२ करोड रुपैयाँभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेकाहरूमा संस्थानका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभागमा कार्यरत सञ्जिव झा पनि छन्।
पक्राउ पर्ने अन्यमा तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल संस्थानका विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय तथा कर्मचारीहरू जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी छन्।
ब्युरोका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रारम्भिक अनुसन्धानका क्रममा तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिएको देखिएको उल्लेख छ। ब्युरोका अनुसार पूर्वयोजनाअनुसार विभिन्न समूह बनाई संगठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याइएको र १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिइएको आरोप छ।
ब्युरोले उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउका लागि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरोले बताएको छ।
उनीहरूमाथि लगाइएका आरोपको न्यायिक निरूपण हुन बाँकी छ। पक्राउ आरोप वा कसुर प्रमाणित भएको निष्कर्ष होइन।





