आईजीपी हटाउने चर्चापछि प्रहरी मुख्यालयमा पाँच घण्टा छलफल

ड्रागन मिडिया सम्वाददाता
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउन लागेको चर्चा सार्वजनिक भएपछि प्रहरी मुख्यालयमा उच्च अधिकारीहरूको आकस्मिक बैठक बसेको छ। बिहीबार दिउँसो २ बजे सुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो।
प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको पुलिस पोलिसी कोअर्डिनेसन कमिटीको बैठकमा काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी नायब महानिरीक्षकभन्दा माथिल्लो तहका अधिकारी सहभागी थिए। प्रदेशमा कार्यरत प्रहरी नायब महानिरीक्षकहरूलाई पनि बैठकका लागि काठमाडौँ बोलाइएको थियो।
बैठकपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्ने व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही गर्ने चेतावनी दिएको छ। बैठकमा सहभागी एक अधिकारीका अनुसार आईजीपी कार्कीले प्रहरी संगठनको व्यावसायिकता, छवि र प्रतिष्ठामाथि आँच पुर्याउने गतिविधिविरुद्ध एकजुट हुन अधिकारीहरूलाई आग्रह गरेका थिए।
केही उच्च अधिकारीले बाहिर आएका विषयबारे प्रधानमन्त्री कार्यालयमा गएर कुरा गर्नुपर्ने धारणा राखेका थिए। व्यक्तिगत विषय सम्बन्धित व्यक्तिले र संगठनसँग जोडिएका विषय संगठनले नै स्पष्ट पार्नुपर्ने मत पनि बैठकमा आएको स्रोतले जनाएको छ।
बैठकमा केही अधिकारीले सरकारका तर्फबाट राजीनामा मागिएको हो कि होइन भनेर कार्कीसँग सोधेका थिए। उनले आफूलाई कसैले राजीनामा दिन नभनेको र बाहिर आएको चर्चा असत्य रहेको बताएका थिए। बैठकमा संगठनको छवि जोगाउँदै शान्तिसुरक्षा कायम राख्ने काममा असर पर्न नदिने प्रतिबद्धता व्यक्त भएको एक अधिकारीले बताए।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बैठकमा शान्तिसुरक्षाको अवस्था, समसामयिक विषय र सामाजिक सञ्जालमा आएका सामग्रीबारे छलफल भएको बताए। उनका अनुसार प्रहरीको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाइएको विषय पनि बैठकमा उठेको थियो।
यसैबीच, प्रहरी महानिरीक्षक र उच्चपदस्थ अधिकारीहरूको सम्पर्कबारे विभिन्न समाचार सार्वजनिक भएका छन्। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी अनुसन्धानमा रहेका बिचौलिया इनम सापकोटासँग कार्कीको कुराकानी हुने गरेको भन्ने विवरणसमेत प्रकाशित भएका छन्। यी विवरणबारे सम्बन्धित पक्षको आधिकारिक धारणा र अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी छ।
कार्कीलाई २०८२ कात्तिक २४ गते प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो। ३० वर्षे सेवा अवधि कायम रहे उनी २०८४ चैतसम्म पदमा रहनेछन्।





