१९ कार्तिक २०८३, बुधबार

गान्तोकको पाल्जोर स्टेडियममा नेपथ्यको ऐतिहासिक प्रस्तुति

ड्रागन मिडिया समाचार कक्ष

सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आइतबार राति भएको नेपथ्य कन्सर्टमा ठूलो सङ्ख्यामा दर्शक सहभागी भएका छन्। स्थानीय दर्शकले यसलाई सिक्किममा अहिलेसम्मकै सबैभन्दा भव्य सांगीतिक जमघटमध्ये एक भन्दै ऐतिहासिक साँझको संज्ञा दिएका छन्।

कन्सर्टका क्रममा दर्शकले नेपथ्यका नयाँ तथा पुराना गीतमा उत्साहपूर्वक साथ दिएका थिए। स्टेडियमभित्र प्रस्तुति चलिरहँदा प्रवेशका लागि बाहिर पनि दर्शकको भीड लागेको थियो। सवारी आवागमन रोक्दासमेत भीड नियन्त्रणमा कठिनाइ भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

स्थानीय उत्तम लेप्चाका अनुसार कन्सर्ट सकिएपछि पनि दर्शक गीत गाउँदै र नाच्दै घर फर्किरहेका थिए। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सिक्किमेली लेखक प्रज्वल पराजुलीले कन्सर्टअघि नै गान्तोकमा नेपथ्यबारे व्यापक चर्चा भइरहेको बताएका थिए। उनले प्रस्तुति भव्य भएको प्रतिक्रिया दिए।

कन्सर्ट शनिबारका लागि तय गरिएको थियो। बङ्गालको खाडीमा विकसित चक्रवात अर्नवको प्रभावले वर्षाको जोखिम देखिएपछि कार्यक्रम एक दिन सारेर आइतबार आयोजना गरिएको थियो।

कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले रसुवामा बाढी आउँदा सिक्किमले राहत पठाएको सहयोग स्मरण गर्दै नेपाल र सिक्किमबीचको सुखदुःखको सम्बन्ध सधैँ कायम रहोस् भन्ने कामना गरे। उनले सिक्किममा नेपाली भाषा व्यापक रूपमा बोलिए पनि नयाँ पुस्तामा नेपाली लेख्ने र पढ्ने अभ्यास घट्दै गएको उल्लेख गर्दै भाषाको पठनपाठनलाई प्राथमिकता दिन आग्रह गरे।

सबै उमेर समूहका दर्शक कन्सर्टमा सहभागी थिए। मञ्चअगाडि उभिएका पाका महिलाको उत्साहले आफूलाई भावुक बनाएको गुरुङले बताए। सिक्किमबाहिरबाट पनि दर्शक आएका थिए। मिजोरमको लाछे र भुटानको चिराङबाट आएका दर्शकले कन्सर्टलाई जीवनभर सम्झनलायक अनुभव भएको प्रतिक्रिया दिए।

स्थानीय आयोजक पोजिटिभ भाइब्सका विकेस कायस्थले नौ महिनाको तयारीपछि कार्यक्रम सफल भएको बताए। उनले सहयोगका लागि सिक्किम सरकार र मातहतका निकायप्रति आभार व्यक्त गरे।

कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।

सिक्किमपछि नेपथ्यले पूर्वी नेपालका सहरमा प्रस्तुति दिनेछ। ब्यान्डको अर्को कन्सर्ट बुधबार, कात्तिक १८ गते, इटहरी रङ्गशालामा हुनेछ। त्यसपछि कात्तिक २१ गते झापाको चारआलीमा कार्यक्रम आयोजना गरिनेछ। तिहारपछि नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुति दिनेछ। त्यसपछि ब्यान्ड अस्ट्रेलिया भ्रमणमा जानेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button