ओमाननजिक तेलवाहक जहाजमा दुई अज्ञात वस्तुको प्रहार

ड्रागन मिडिया समाचार कक्ष
ओमानको लिमाबाट उत्तरपूर्वतर्फ समुद्रमा रहेको एक तेलवाहक जहाजको इन्जिन कक्षमा मंगलबार दुईवटा अज्ञात वस्तु प्रहार भएको संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले जनाएको छ।
जहाजको सुरक्षा अधिकारीबाट प्राप्त जानकारीअनुसार घटना ग्रिनविच समयअनुसार साँझ ७ बजे, लिमाबाट करिब १४ समुद्री माइल अर्थात् २६ किलोमिटर उत्तरपूर्वमा भएको हो। घटनामा कसैको मृत्यु वा घाइते भएको तथा समुद्री वातावरणमा असर परेको जानकारी नआएको यूकेएमटीओले जनाएको छ।
यसअघि मंगलबार यूकेएमटीओले होर्मुज जलडमरूमध्यबाट बाहिरिँदै गरेको भारतीय चालकदलसहितको ढुङ्गे जहाजमाथि सोमबार आक्रमण भएकोबारे छुट्टै सूचना जारी गरेको थियो। यूकेएमटीओका अनुसार ओमानको शाही जलसेनाले जीवित चालकदलका सदस्यहरूको उद्धार गरेको थियो। जहाजको अवस्था भने अज्ञात रहेको जनाइएको छ। उक्त घटनाको समय सोमबार ग्रिनविच समयअनुसार बिहान ११ बजेर ५ मिनेट उल्लेख गरिएको थियो।
घटनाहरूको अनुसन्धान भइरहेका बेला यूकेएमटीओले जहाजहरूलाई सावधानीपूर्वक यात्रा गर्न र शङ्कास्पद गतिविधि देखिएमा जानकारी गराउन आग्रह गरेको छ।





