१९ कार्तिक २०८३, बुधबार

पोखराका तालमा जलपर्यटन सुरक्षित बनाउन प्रशासनको आग्रह

ड्रागन मिडिया सम्वाददाता

कास्की जिल्ला प्रशासन कार्यालयले फेवातालसहित पोखराका विभिन्न तालमा सञ्चालन हुने जलपर्यटन गतिविधि कानुनअनुसार व्यवस्थित र सुरक्षित बनाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले मंगलबार जारी गरेको सूचनामा डुङ्गा, कायाकिङ र सर्फिङ बोट सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनिएको छ। लाइफ ज्याकेट नलगाई यी गतिविधिमा सहभागी हुन पूर्ण रूपमा रोक लगाउन पनि प्रशासनले आग्रह गरेको छ।

सेवाग्राहीको अवस्था हेरेर जलपर्यटन गतिविधिमा सहभागी गराउनुपर्ने र व्यवसायीले त्यसको नियमित निगरानी गर्नुपर्ने सूचनामा उल्लेख छ। १६ वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ वा सर्फिङ बोट सञ्चालन गर्न दिन नहुने तथा तोकिएका स्थानमा मात्र यस्ता गतिविधि गर्न प्रशासनले भनेको छ।

पूर्वस्वीकृत सङ्ख्याभन्दा बढी कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न र तालको वातावरणीय स्वच्छता तथा सौन्दर्यमा असर नपर्ने गरी व्यवसाय चलाउन पनि आग्रह गरिएको छ।

हावाहुरी, वर्षा वा चट्याङ परेको बेला डुङ्गा, कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न प्रशासनले सचेत गराएको छ। सूचनाविपरीत गतिविधि सञ्चालन गरेको वा आवश्यक सावधानी नअपनाएको पाइएमा कानुनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button