१९ कार्तिक २०८३, बुधबार

मनाङ भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या बढ्दो

ड्रागन मिडिया सम्वाददाता

मनाङ भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङले जनाएको छ।

एकाइका प्रमुख ढकबहादुर भुजेलका अनुसार सोही अवधिमा ११९ देशका कुल ३० हजार ६६२ विदेशी पर्यटक मनाङ पुगेका छन्। तीमध्ये १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र १० जना अन्य पर्यटक छन्। सार्क राष्ट्रबाट पाँच हजार ९० र अन्य देशबाट २५ हजार ५७२ पर्यटक आएका छन्।

मनाङ आउने पर्यटकमध्ये इजरायलका दुई हजार ७६८, जर्मनीका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ जना छन्। पर्यटकहरू प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, स्थानीय संस्कृति र पदयात्राका लागि मनाङ पुग्ने गरेको भुजेलले बताए।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सीमामा पर्ने थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल तथा हिमलुङ र मनास्लु हिमाल आरोहण पर्यटकका मुख्य आकर्षण हुन्। अन्नपूर्ण पदमार्ग हुँदै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ र पोखरा पुग्ने पदयात्री पनि छन्।

चक्रवात अर्नबको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात र जोखिमपूर्ण अवस्था रहँदासमेत पर्यटक मनाङ पुगेको भुजेलले बताए। मौसम र जोखिम कम भएपछि पर्यटक गन्तव्यतर्फ अघि बढेको उनले जनाए।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित मनाङ्गे चौताराबाट यात्रा सुरु हुन्छ। पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्लालाई जोड्छ। पछिल्लो समय पर्यटक सवारीसाधनबाट चामे र खाङ्सारसम्म पुग्ने गरेका छन्; त्यसपछि पदयात्रा सुरु हुन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button