विष्णुमान श्रेष्ठका दुई कृति एउटै कार्यक्रममा विमोचित

ड्रागन मिडिया सम्वाददाता
सिर्जना कला साहित्य प्रतिष्ठानले औपचारिक शुभकामना मन्तव्यलाई छोट्याएर साहित्यिक विमर्शमा केन्द्रित कार्यक्रम गरेको छ। प्रतिष्ठानका कार्यवाहक अध्यक्ष जीतबहादुर शाहको अध्यक्षतामा आइतबार आयोजित कार्यक्रममा कथाकार विष्णुमान श्रेष्ठका दुई कृति सार्वजनिक गरिए।
कार्यक्रममा श्रेष्ठको कथासङ्ग्रह ‘नियतिको खेल’ र नाटक ‘जीवन चक्र’ विमोचन गरियो। कथासङ्ग्रहमाथि कथाकार सुमित्रा न्यौपानेले समीक्षा प्रस्तुत गरिन्। नाटकको समीक्षा ज्ञान बहुमुखी क्याम्पसमा नाटक तथा समालोचना अध्यापन गराउँदै आएका डम्बरबहादुर खत्रीले गरे।
समीक्षकहरूले सैद्धान्तिक पक्षभन्दा कृतिको सिर्जनात्मक विशेषता, लेखन र विषयवस्तुलाई प्राथमिकता दिएका थिए। सहभागीका अनुसार यस्तो समीक्षाले विमर्शलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमको दोस्रो चरणमा विशिष्ट वक्ताहरूले साहित्यसँग सम्बन्धित निश्चित विषयमा धारणा राखे। नरेन्द्रजंग पिटरले ‘साहित्य किन लेख्ने, केका लागि लेख्ने?’ विषयमा बोले। महानन्द ढकालले ‘गजलमा देखिएको विवाद, हिजोआज र बाँके’ विषय प्रस्तुत गरे। प्राज्ञ सभा सदस्य खगेन्द्र गिरि कोपिलाले आफूले देखेको प्रज्ञा प्रतिष्ठान र आफ्नो अनुभव सुनाए। प्राज्ञ सभा सदस्य किरण आचार्यले ‘यजुर्वेदमा अग्नि’ र कवि प्राडा कृष्णप्रसाद घिमिरेले ‘समाज र साहित्य’ विषयमा विचार राखे।
कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मीलाई आयोजकले विषय तोकेको थिएन। उनले आफैँ ‘वर्तमान समयको साहित्य र कृत्रिम बौद्धिकताको प्रयोग’ विषय रोजेर मन्तव्य दिए।
विषयगत प्रस्तुति र कृतिको समीक्षालाई प्राथमिकता दिँदा कार्यक्रम परम्परागत औपचारिकताभन्दा साहित्यिक विमर्शमा केन्द्रित भएको सहभागीहरूको भनाइ थियो। कार्यक्रम लामो समय चले पनि अन्त्यसम्म साहित्यप्रेमीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।





