नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीको प्रहरी सेवायात्रा

ड्रागन मिडिया सम्वाददाता
मन्त्रीपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेसँगै उनी संगठनको नेतृत्वमा पुगेका छन्। यसअघि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।
केसी र निवर्तमान महानिरीक्षक दानबहादुर कार्की एउटै ब्याचका अधिकृत हुन्। दुवै २०५४ चैतमा प्रहरी निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका थिए।
केसीको प्रहरी सेवामा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई महत्त्वपूर्ण मानिन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्धको अनुसन्धान अघि बढाएका थिए। उनको नेतृत्वको टोलीले २०७९ चैत १२ गते यस प्रकरणका आरोपित केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो।
त्यसपछि अनुसन्धान सङ्गठित अपराधतर्फ अघि बढ्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका व्यक्ति पक्राउ परेका थिए। त्यतिबेला केसी प्रहरी वरिष्ठ उपरीक्षक थिए। खाँडलाई पक्राउ गर्न उनको नेतृत्वको टोली खाँड निवास पुगेको थियो।
प्रकरणको दोस्रो चरणको अनुसन्धान चलिरहेका बेला २०८० भदौ ४ गते तत्कालीन सरकारले केसीलाई जिम्मेवारीबाट हटाएको थियो। त्यसपछि २०८२ असोज ५ गते उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको थियो। त्यहाँबाट उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुगेका थिए।
प्रहरी संगठनका विभिन्न जिम्मेवारी सम्हालेका केसी अब संगठनको सर्वोच्च नेतृत्वमा पुगेका छन्। सरकारले निवर्तमान महानिरीक्षक कार्कीलाई पदबाट हटाएर उनलाई प्रहरी प्रमुख नियुक्त गरेको हो।





