बेल्ट एन्ड रोड सञ्चार सहकार्य मञ्चद्वारा ‘फुझौ पहल’ जारी

ड्रागन मिडिया समाचार कक्ष
सन् २०२६ को बेल्ट एन्ड रोड सञ्चार सहकार्य मञ्च मंगलबार चीनको फुजियान प्रान्तस्थित फुझौमा सुरु भएको छ। कार्यक्रममा १०० देशका १८२ सञ्चारमाध्यम तथा संस्थाका दुई सयभन्दा बढी विदेशी प्रतिनिधि र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका प्रतिनिधि सहभागी भएका छन्।
मञ्चका सहभागीहरूले उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य विश्वव्यापी सार्वजनिक हितको साझा प्रयास बनेको र अन्तर्राष्ट्रिय आर्थिक सहकार्यको सबैभन्दा ठूलो तथा व्यापक मञ्चका रूपमा विस्तार भएको बताएका छन्। सञ्चारमाध्यमले रेशम मार्गका कथा साझा रूपमा प्रस्तुत गर्दै नीतिगत समन्वय र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
मञ्चमा सञ्चारमाध्यमका प्रतिनिधिहरूले संयुक्त रूपमा “बेल्ट एन्ड रोड सञ्चार सहकार्य: फुझौ पहल” मा हस्ताक्षर गरेका छन्। फुजियान नाममा रहेको “फु” अक्षरले शुभलाभ वा सौभाग्य जनाउने र यस्तो आकाङ्क्षा विभिन्न देशका जनतामा साझा रहेको पहलमा उल्लेख छ। बेल्ट एन्ड रोड सहकार्यबारे समाचार प्रस्तुत गर्दा जनताको राम्रो जीवनप्रतिको साझा चाहना समेट्न र पारस्परिक विश्वास तथा समझदारीमा आधारित सहमति निर्माण गर्न सञ्चारमाध्यमलाई आह्वान गरिएको छ।
चिनियाँ भाषामा संवाद गर्न सक्ने इजिप्टेली पर्यटक पथप्रदर्शक अब्बास सइदले विश्वविद्यालयमा चिनियाँ भाषा पढ्न थालेदेखि नै आफूले फरक किसिमको पथप्रदर्शक बन्ने चाहना राखेको बताए। दुई देशका जनतालाई जोड्ने र आपसी आदानप्रदान बढाउने पुल बन्नु उनको उद्देश्य रहेको छ। प्रमाणित पथप्रदर्शकका रूपमा २० वर्ष काम गरेका सइदले इजिप्टमा धेरै चिनियाँ प्रतिनिधिमण्डललाई मार्गदर्शन गरेका छन्। पछिल्लो १५ वर्षदेखि उनले इजिप्टेली दर्शकलाई चिनियाँ संस्कृति र सभ्यताबारे जानकारी दिँदै आएका छन्।
मञ्चको उद्घाटन समारोहमा बोल्दै सइदले चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड पहलले आफूलाई विभिन्न परियोजना र गतिविधिमा सहभागी हुने अवसर दिएको बताए। सञ्चारकर्मीले यस पहलको भावना सर्वसाधारणसम्म पुर्याउन र यसलाई सुख तथा सभ्यताको साझा मार्ग बनाउन योगदान गर्नुपर्ने उनको भनाइ थियो।
पाकिस्तानको जाङ मिडिया समूहकी प्रमुख बजार अधिकृत सादिया शरीफले बेल्ट एन्ड रोड पहलका सिद्धान्त पाकिस्तान र चीनबीचको लामो सम्बन्धमा प्रतिबिम्बित भएको बताइन्। उनका अनुसार शान्तिपूर्ण सहकार्य, खुलापन, समावेशिता, पारस्परिक सिकाइ र लाभ दुई देशबीचको ७५ वर्षदेखिको रणनीतिक साझेदारीका आधार हुन्। चीन–पाकिस्तान आर्थिक करिडोरको पहिलो चरणअन्तर्गतको सुकी किनारी जलविद्युत् परियोजनाले १० लाखभन्दा बढी घरपरिवारलाई विद्युत् उपलब्ध गराउने र छ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने उनले उल्लेख गरिन्। करिडोरको दोस्रो चरणमा इन्जिनियरिङ निर्माणबाट प्रतिस्पर्धात्मक क्षमता विस्तार, सम्पर्क सञ्जालबाट मूल्य अभिवृद्धि र सरकारको नेतृत्वका परियोजनाबाट व्यावसायिक साझेदारीतर्फ ध्यान सर्दै गएको उनको भनाइ थियो।
ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना फोर्ट अर्केस्ट्राकी निर्देशक मार्सिया मेल्चियरले महामारीका बेला आफ्नो अर्केस्ट्रा कठिन अवस्थामा परेको र भविष्य अनिश्चित बनेको अनुभव सुनाइन्। त्यसबेला चाइना नेसनल अफशोर आयल कर्पोरेसनको ब्राजिलस्थित शाखाले गरेको सहयोगले अर्केस्ट्राको अवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन्। ब्राजिलमा काम गर्ने चिनियाँ कम्पनीले स्थानीय समुदायसँग विकासका लाभ बाँड्न सक्ने कुरा आफूले त्यस अनुभवबाट बुझेको मेल्चियरको भनाइ थियो।
“विकासले मानिसलाई लाभ पुर्याउँछ, अवसर सिर्जना गर्छ र उनीहरूलाई नजिक ल्याउँछ भने मात्र त्यसको वास्तविक अर्थ हुन्छ,” मेल्चियरले भनिन्। चीन र ब्राजिलजस्ता दुई ठूला देश एउटै दिशामा अघि बढे पहिले असम्भव ठानिएका सपना पनि साकार हुन सक्ने उनले बताइन्।





