मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट अवकाश

ड्रागन मिडिया समाचार कक्ष
भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट अवकाश लिने घोषणा गरेका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमा भिडियो र सन्देश सार्वजनिक गर्दै आफ्नो निर्णय सुनाएका हुन्।
शमीले टेस्ट क्रिकेट आफ्नो खेलजीवनको विशेष हिस्सा रहेको र भारतको टेस्ट जर्सी लगाउँदाको सपना सधैँ सम्झनामा रहने बताएका छन्। उनले क्रिकेट यात्रामा साथ दिने सहखेलाडी, प्रशिक्षक, परिवार, समर्थक तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड र क्रिकेट एसोसिएसन अफ बंगालप्रति आभार व्यक्त गरेका छन्।
“टेस्ट क्रिकेटमा मैदानमा फालेको अन्तिम बल सायद यसअघि नै फालिसकेको छु, तर भारतको प्रतिनिधित्व गर्न पाएको गर्व सधैँ हृदयमा रहनेछ,” उनको सन्देशमा भनिएको छ।
३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेलेर २२९ विकेट लिएका छन्। सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि उनी राष्ट्रिय टोलीमा परेका छैनन्। उनले सीमित ओभरको क्रिकेट भने जारी राख्ने बताएका छन्।





