तिहारका लागि पोखरा आइपुगे भेडाच्याङ्ग्रा

ड्रागन मिडिया सम्वाददाता
तिहारलाई लक्षित गर्दै मुस्ताङ, डोल्पा र मुगुलगायत हिमाली क्षेत्रबाट व्यापारीहरूले भेडाच्याङ्ग्रा पोखरा ल्याएका छन्। बिक्रीका लागि पोखरा महानगरपालिका–१, सिमपानीका सात–आठ स्थानमा ती पशु राखिएका छन्।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार मुस्ताङबाट बाहिरिएका १,२०० च्याङ्ग्रामध्ये ५०० काठमाडौं र ७०० पोखरा ल्याइएको छ। यसपटक अघिल्ला वर्षको तुलनामा पोखरामा धेरै च्याङ्ग्रा भित्रिएको उनले बताए। रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्ने र त्यसभन्दा कम मूल्यका च्याङ्ग्रा पनि बथानमा रहेको उनको भनाइ छ।
छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ च्याङ्ग्रा पोखरा ल्याएका छन्। दसैँमा तीन सयभन्दा बढी च्याङ्ग्रा बिक्री गरेको र फूलपातीपछि माग धान्न मुस्किल परेको उनले बताए। तिहारमा माग केही कम हुने भए पनि यसपटक पोखरामा बिक्रीका लागि धेरै च्याङ्ग्रा आएको उनले जानकारी दिए।
मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम सुर्खेत हुँदै चार दिन लगाएर पोखरा आइपुगेका छन्। उनीसँग मुख्यतः भेडा र साँढ छन् भने केही च्याङ्ग्रा पनि छन्। पाँच–छ वर्षदेखि पोखरामा च्याङ्ग्रा बेच्न आउँदै गरेका भामले गत वर्ष घाटा व्यहोरे पनि यस वर्षको दसैँमा राम्रो व्यापार भएको बताए। तिहारको कारोबार कस्तो हुन्छ भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ। दसैँ–तिहारको समयमा एक व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म कमाउने गरेको पनि उनले बताए।
डोल्पाका सन्तोष धराला १५० च्याङ्ग्रा लिएर पोखरा आएका छन्। चाडपर्वमा च्याङ्ग्रा बेच्न पोखरा आउन थालेको तीन वर्ष भएको उनले बताए। यहाँ घाँस र चरन क्षेत्र पाइने भएकाले च्याङ्ग्रा पाल्न तथा बिक्रीका लागि पोखरा सहज रहेको उनको भनाइ छ। घाटा–नाफा जे भए पनि पुस्तैनी पेसा भएकाले व्यापारलाई निरन्तरता दिएको उनले बताए।
दसैँ–तिहारका बेला अन्य जिल्लाका व्यापारी पनि च्याङ्ग्रा लिन मुस्ताङ पुग्छन्। जोमसोम, कागबेनी र चमरलगायत ठाउँबाट ल्याइएका च्याङ्ग्रा म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा आइपुग्न एक सातासम्म लाग्न सक्छ। केही व्यापारीले ट्रकमा ल्याउँछन् भने केहीले हिँडाएर पोखरासम्म ल्याउने गरेका छन्। पोखरा आएका मुस्ताङी च्याङ्ग्रा काठमाडौंसम्म पनि पठाइन्छन्।
व्यापारीहरूका अनुसार लामो यात्राका कारण ढुवानी, खाना र बासमा खर्च बढ्छ। मासुका अन्य परिकार वर्षभरि उपलब्ध भए पनि च्याङ्ग्राको माग दसैँ र तिहारमा विशेष रूपमा बढ्ने गर्छ।





