२५ कार्तिक २०८३, मंगलवार

नेपाल संवत् मौलिक समयचक्र र पहिचान : प्रधानमन्त्री शाह

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् नेपालको आफ्नै मौलिक समयचक्र र पहिचान भएको बताएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले देशवासीलाई ऋणमुक्त गराएको स्मृतिमा नेपाल संवत् सुरु भएको उल्लेख गर्दै उनले यसले नेपालको विशिष्ट इतिहास र सभ्यता झल्काउने बताए।

नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रेरित गर्ने बताए।

नेवार समुदायमा मनाइने म्हः पूजाको गहिरो सांस्कृतिक अर्थ रहेको उल्लेख गर्दै उनले ‘म्ह’ अर्थात् आफ्नै शरीर र त्यसमा रहेको चेतनालाई साक्षी राखेर पूजा गर्ने परम्पराले आत्मशुद्धि र आत्मचेतनाको बोध गराउने बताए। यसले समुदायमा सद्भाव र आत्मबल बढाउनुका साथै पुर्ख्यौली संस्कृतिको संरक्षण र जातीय एकतालाई बलियो बनाउने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले गोवर्धन पूजा र हली तिहारको प्रसङ्ग पनि उल्लेख गरे। पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको सम्झनामा मनाइने गोवर्धन पूजाका दिन कृषिकर्मका सहयात्री गोरु र कृषि औजारको पनि पूजा गरिन्छ।

देउसी–भैलोका गीत र आशीर्वचनले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने भन्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button