जापोरिझिया आणविक विद्युत् केन्द्रका दुई कर्मचारी मारिएको दाबी

ड्रागन मिडिया समाचार कक्ष
जापोरिझिया आणविक विद्युत् केन्द्रका दुई कर्मचारी युक्रेनी आक्रमणमा मारिएको केन्द्रले जनाएको छ। केन्द्रको आधिकारिक वक्तव्यअनुसार नोभेम्बर ११ मा एक कर्मचारी आफ्नै घरमा भएको आक्रमणमा मारिएका थिए। त्यसको अघिल्लो दिन काममा जाँदै गरेका अर्का कर्मचारी सवार कारलाई ड्रोनले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
केन्द्रका अनुसार अप्रिल २०२६ यता मारिने कर्मचारीको सङ्ख्या १५ पुगेको छ।
वक्तव्यमा युक्रेनी सेनाले एनरहोदार सहर र आसपासका गाउँमा रहेका आवासीय भवनलाई निशाना बनाएको आरोप लगाइएको छ। राति मानिसहरू घरमा आराम गरिरहेका बेला पनि आक्रमण भइरहेको केन्द्रको भनाइ छ।
एनरहोदारका बासिन्दाको जीवन अवस्था र केन्द्रको सुरक्षाबीच प्रत्यक्ष सम्बन्ध रहेको वक्तव्यमा उल्लेख छ। केन्द्रको सुरक्षा त्यहाँ कार्यरत कर्मचारीमा निर्भर रहने भएकाले उनीहरूले कामपछि आराम गर्न र आफ्नो परिवार सुरक्षित रहेको महसुस गर्न पाउनुपर्ने केन्द्रले जनाएको छ।
कर्मचारी र उनीहरूका घरलाई निशाना बनाइरहनु आणविक सुरक्षालाई जोखिममा पार्ने कार्य भएको आरोप पनि केन्द्रले लगाएको छ। यी घटनासम्बन्धी दाबी र आरोपबारे युक्रेनी पक्षको प्रतिक्रिया यस वक्तव्यमा समावेश छैन।





