भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

ड्रागन मिडिया सम्वाददाता
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८:३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले घाइतेलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकले बिहान ९:२० बजे तीन जनालाई मृत घोषणा गरेका हुन्।
अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





