४ मंसिर २०८३, बिहीबार

जापानको कुमामोतोमा ५.७ म्याग्निच्युडको भूकम्प, सतर्क रहन आग्रह

ड्रागन मिडिया समाचार कक्ष

दक्षिणपश्चिम जापानको कुमामोतो प्रान्तमा बिहीबार बिहान ५.७ म्याग्निच्युडको प्रारम्भिक मापन गरिएको भूकम्प गएपछि मौसम एजेन्सीले थप भूकम्प आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जापान मौसम विज्ञान एजेन्सीले एक सातासम्म सावधानी अपनाउन भनेको छ। त्यही स्तरको अर्को भूकम्प आउन सक्ने सम्भावना रहेको एजेन्सीले जनाएको छ।

स्थानीय समयअनुसार बिहान २:२२ बजे गएको भूकम्पको केन्द्रविन्दु कुमामोतो प्रान्तको अमाकुसा–आशिकिता क्षेत्रमा र करिब १० किलोमिटर गहिराइमा थियो। जापानको शून्यदेखि सातसम्मको भूकम्पीय तीव्रता मापनमा प्रान्तका केही क्षेत्रमा यसको तीव्रता पाँचभन्दा केही कम मापन गरिएको थियो। सुनामीको चेतावनी जारी नगरिएको एजेन्सीले जनाएको छ।

भूकम्पपछि मिनामाता र कुमा नगर सरकारले बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिएका थिए। जेआर क्युसुका अनुसार हाकाता र कागोशिमा–चुओ स्टेसनबीच चल्ने क्युसु शिन्कान्सेनका आठ सेवा स्थगित हुँदा करिब ५ हजार ६०० यात्रु प्रभावित भएका छन्।

भूकम्पको धक्का जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युसुका साथै शिकोकु र होन्शुका केही क्षेत्रमा महसुस गरिएको मौसम एजेन्सीले जनाएको छ।

यसअघि गत जुलाई २८ मा कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबेला केही क्षेत्रमा जापानको तीव्रता मापनको उच्चतम स्तर सात पुगेको थियो। उक्त भूकम्पमा ३० जनाभन्दा बढीको मृत्यु भएको र कागज कारखानाको चिम्नी भत्किनेसहित ठूलो क्षति भएको सिन्ह्वाले जनाएको छ।

अगस्ट १ पछि बिहीबारको भूकम्प पहिलोपटक प्रान्तमा पाँचभन्दा कम तीव्रता मापनभन्दा माथि पुगेको घटना हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button