चिनियाँ जनमैत्री संघका अध्यक्ष याङ वानमिङ नेपाल भ्रमणमा

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ जनमैत्री संघका अध्यक्ष याङ वानमिङले मंगलबारदेखि बिहीबारसम्म नेपालको भ्रमण गरेका छन्। भ्रमणको उद्देश्य नेपाल–चीन परम्परागत मैत्री सम्बन्ध सुदृढ गर्नु र विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य अघि बढाउनु रहेको सिन्ह्वाले जनाएको छ।
भ्रमणका क्रममा याङले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, परराष्ट्रमन्त्री शिशिर खनाल र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। चिनियाँ प्रतिनिधिमण्डलले नेपालका प्रमुख मित्रवत् व्यक्तित्वहरूसँगको सामूहिक छलफलमा पनि सहभागिता जनाएको थियो।
गत अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्रमा गएको भीषण पहिरोका कारण भएको जनधनको क्षतिप्रति याङले दुःख व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणमा आफ्नो क्षमताअनुसार सहयोग गर्न चिनियाँ जनमैत्री संघ तयार रहेको उनले बताए।
दुवै पक्षले नेपाल र चीनका नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीमा आधारित सहयोगात्मक रणनीतिक साझेदारीलाई निरन्तरता दिनेमा पनि उनीहरूले जोड दिएका छन्।
स्थानीय शासन, संसदीय संवाद, जनस्तरको सम्बन्ध, अर्थतन्त्र तथा व्यापार, संस्कृति, पर्यटन र युवा आदानप्रदानमा मैत्रीपूर्ण सम्पर्क तथा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ।





