५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति

ड्रागन मिडिया सम्वाददाता
नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते उक्त विद्युत् आईएक्सको डे–अहेड र रियल–टाइम बजारमा बिक्री गर्न स्वीकृति दिएको हो। अनुमति सन् २०२६ नोभेम्बर १८ देखि सन् २०२७ जुन १४ सम्म लागू हुनेछ।
अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ। बाँकी ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट भारत पठाइनेछ।
नेपाल विद्युत् प्राधिकरणले भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) सँग गरेको मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत हरियाणा र बिहारमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात गर्दै आएको छ। चालु वर्षको सम्झौताअनुसार निर्यात अवधि अक्टोबर ३१ मा सकिएको थियो। त्यसपछि वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले स्वीकृत आयोजनाको सूची भारतीय निकायमा पठाएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट बिक्री गर्ने अनुमति प्राप्त भएको हो। प्राधिकरणले आन्तरिक खपतभन्दा बढी हुने वर्षायामको विद्युत् आईएक्सको डे–अहेड र रियल–टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। द्विपक्षीय सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार तथा बंगलादेशमा पनि विद्युत् निर्यात हुँदै आएको छ।
सेती खोलाको २१.३४ मेगावाट निर्यात गर्न पनि स्वीकृति
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति दिएको छ। यो स्वीकृति सन् २०२६ नोभेम्बर १८ देखि सन् २०२७ अगस्ट ३१ सम्मका लागि हो।
यससँगै भारततर्फ निर्यात गर्न स्वीकृत कुल विद्युत् क्षमता १ हजार १९८ मेगावाट पुगेको छ। आगामी हिउँदयामको माग व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्न पनि अनुमति प्राप्त भइसकेको छ।





