चीनको उच्च प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी ३१.३ प्रतिशत बढ्यो

ड्रागन मिडिया समाचार कक्ष
चीनको उच्च प्रविधि क्षेत्रमा सन् २०२६ को पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशत बढेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरसम्म उक्त क्षेत्रमा २५२ अर्ब ८३ करोड युआन अर्थात करिब ३७ अर्ब ६६ करोड अमेरिकी डलर लगानी भएको छ।
चीनमा यो अवधिमा वास्तविक रूपमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीको ४१.७ प्रतिशत उच्च प्रविधि क्षेत्रमा गएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस क्षेत्रको हिस्सा १०.७ प्रतिशत बिन्दुले बढेको हो। समग्रमा भने चीनमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी २.४ प्रतिशत घटेर ६०६ अर्ब ९३ करोड युआनमा सीमित भएको छ।
उच्च प्रविधिअन्तर्गत हवाई तथा अन्तरिक्ष उपकरण निर्माणमा वैदेशिक लगानी १२८.८ प्रतिशत बढेको छ। वैज्ञानिक तथा प्राविधिक उपलब्धिलाई व्यावसायिक प्रयोगमा ल्याउने सेवामा ७३.३ प्रतिशत र विद्युतीय तथा दूरसञ्चार उपकरण निर्माणमा ३५.७ प्रतिशत वृद्धि भएको मन्त्रालयले जनाएको छ।
जनवरीदेखि अक्टोबरसम्म चीनमा वैदेशिक लगानी भएका ५२ हजार ८५३ नयाँ उद्यम स्थापना भएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिभन्दा १.७ प्रतिशत कम हो। यस अवधिमा उत्पादनमूलक उद्योगले १४३ अर्ब ४ करोड युआन र सेवा क्षेत्रले ४५० अर्ब ३८ करोड युआन प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएका छन्।
मन्त्रालयका अनुसार क्यानडाबाट आएको लगानी १०५.७ प्रतिशत, फ्रान्सबाट ३५.१ प्रतिशत, स्विट्जरल्यान्डबाट २३.५ प्रतिशत र अमेरिकाबाट ९.६ प्रतिशत बढेको छ। यी आँकडामा मुक्त बन्दरगाहमार्फत आएको लगानी पनि समावेश छ।
सिन्ह्वाका अनुसार सेप्टेम्बरमा सार्वजनिक एक प्रतिवेदनले उच्च प्रविधि र उच्च मूल्य अभिवृद्धि गर्ने उद्योग विदेशी लगानीकर्ताको प्राथमिकतामा पर्दै गएको जनाएको थियो। बहुराष्ट्रिय कम्पनीहरूले चीनमा अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने क्रम तीव्र बनाएको पनि प्रतिवेदनमा उल्लेख छ।





