६ मंसिर २०८३, शनिबार

खेतीको पानीदेखि विपदको पूर्वसूचनासम्म, चिनियाँ एआईमा आधारित जलवायु सहकार्य

ड्रागन मिडिया समाचार कक्ष

लेबनानको बेका उपत्यकाको एउटा अङ्गुरबारीमा चिनियाँ र लेबनानी अनुसन्धानकर्ताले बोटका डाँठमा सेन्सर जडान गरे। उनीहरूको उद्देश्य बोटभित्र पानीको प्रवाह नापेर खेतीमा वास्तवमा कति पानी खपत हुन्छ भन्ने बुझ्नु थियो। सन् २०२३ को जुनमा गरिएको यो स्थलगत अध्ययनमा लेबनानी प्राविधिकलाई उपकरणको मर्मत, अवलोकन तथ्याङ्क सङ्कलन र प्रशोधनको तालिम पनि दिइएको थियो।

टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा चीनले यस्तै तथ्याङ्कलाई कृषि, विपदको पूर्वसूचना र उत्सर्जन अनुगमनमा प्रयोग गर्ने प्रविधि प्रस्तुत गरेको छ। ग्लोबल टाइम्सका अनुसार लेबनानको स्थलगत अध्ययनदेखि थाइल्यान्डको संयुक्त मौसम प्रयोगशालासम्मका परियोजनामा चिनियाँ अनुसन्धानकर्ताले स्थानीय प्राविधिकसँग मिलेर उपकरण र पूर्वानुमान प्रणाली परीक्षण तथा परिमार्जन गरिरहेका छन्।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको एरोस्पेस सूचना अनुसन्धान संस्थानले विकास गरेको ‘ईटीवाच’ प्रणालीले स्थलगत मापन, भूउपग्रहको तथ्याङ्क, कृत्रिम बुद्धिमत्ता (एआई) र भौतिक प्रक्रियामा आधारित मोडल जोड्छ। यसले जमिन र पानीको सतहबाट हुने वाष्पीकरण तथा बोटबिरुवाबाट हुने वाष्पोत्सर्जनमार्फत कति पानी वायुमण्डलमा फर्कन्छ भन्ने अनुमान गर्छ। खेतमा नापिएको तथ्याङ्कसँग भूउपग्रहबाट प्राप्त अनुमान मिलाएर हेर्दा एउटै खेतदेखि सिँचाइ क्षेत्र र नदी बेसिनसम्मको पानी खपत बुझ्न सकिन्छ।

यसबाट कुनै सिँचाइ विधिले खेतमा हालिने पानी घटायो कि समग्र नदी बेसिनमै खपत कम गर्‍यो भन्ने छुट्याउन मद्दत पुग्छ। संस्थानका अनुसार सम्बन्धित विधि ४० भन्दा बढी नदी बेसिनमा प्रयोग गरिएको छ। इजिप्ट, मोजाम्बिक, उज्बेकिस्तान र ब्राजिललगायत देशका सहभागीलाई प्राविधिक तालिम पनि दिइएको छ।

मोजाम्बिकको अनुभवले भूउपग्रहको तथ्याङ्क बुझ्न स्थानीय जानकारी किन चाहिन्छ भन्ने देखाउँछ। त्यहाँ केही खेतमा बालीसँगै बाक्लो झार देखेका अनुसन्धानकर्ता झाङ मियाओका अनुसार भूउपग्रहले देखाएको सबै हरियालीलाई बालीको वृद्धि ठान्दा उत्पादनको अनुमान वास्तविकभन्दा बढी हुन सक्छ। सन् २०१७ मा ‘क्रपवाच’ प्रणाली उपलब्ध भएपछि मोजाम्बिकका प्राविधिकले तीन वर्षसम्म त्यसको प्रयोग सिके। त्यसपछि उनीहरूले आफैँ बालीको अवस्था विश्लेषण गरी पोर्चुगाली भाषामा प्रकाशित राष्ट्रिय कृषि–मौसम बुलेटिनमा निष्कर्ष समेट्न थाले। अहिले एआईले प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनाउन सघाए पनि त्यसलाई निर्णयमा प्रयोग गर्नुअघि विशेषज्ञले समीक्षा गर्छन्।

इजिप्टमा चिनियाँ र इजिप्टेली अनुसन्धानकर्ताले एआई र जलवायु मोडल संयोजन गरी नाइल नदीको बहाव दुईदेखि छ साताअघि अनुमान गर्ने प्रणालीमा काम गरिरहेका छन्। सन् २०२७ को बाढी याममा यसको परीक्षण गर्ने योजना छ। बहावबारे केही साता अगावै जानकारी पाए सिँचाइ, खानेपानी आपूर्ति र जलाशय सञ्चालनको तयारी गर्न समय मिल्न सक्छ।

थाइल्यान्डमा भने अत्यधिक वर्षा, खडेरी र गर्मीको पूर्वानुमान सुधार्न चीन र थाइल्यान्डले संयुक्त प्रयोगशाला स्थापना गरेका छन्। दुवै देशका विशेषज्ञले चिनियाँ ‘फेङशुन’ एआई प्रणालीले थाइल्यान्डको तापक्रम र वर्षा कति सही अनुमान गर्छ भनेर परीक्षण गरिरहेका छन्। उनीहरूले झन्डै २० वर्षका विगतका पूर्वानुमानको अध्ययनबाट त्रुटि सच्याउने र १० किलोमिटरको अन्तरमा क्षेत्रगत पूर्वानुमान तयार गर्ने लक्ष्य राखेका छन्। सुधारिएको प्रणाली सन् २०२७ मा थाइल्यान्डमा जडान गरी ‘माजु’ पूर्वसूचना प्रणालीसँग जोडेर परीक्षण गर्ने योजना छ।

चीनको मौसम प्रशासनका अनुसार सन् २०२६ को अक्टोबरसम्म ‘माजु’ प्रणाली पाकिस्तान, इथियोपिया र श्रीलंकासहित आठ देशमा जडान गरिएको थियो। ५० भन्दा बढी देशमा यसको अनलाइन परीक्षण भइरहेको थियो। श्रीलंकालाई नोभेम्बर १ मा उपलब्ध गराइएको संस्करणमा हवाई तथा समुन्द्री सेवाका लागि छुट्टै सुविधा छन्। त्यसलाई सन् २०२६ को अन्त्यसम्म नियमित सेवामा ल्याउने अपेक्षा गरिएको छ।

कोप–३१ को चिनियाँ प्रदर्शनीमा उत्सर्जन निरीक्षणका लागि तस्बिर, ध्वनि र ग्याससम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्ने चलायमान उपकरण पनि देखाइएको थियो। चीनको पर्यावरण तथा वातावरण मन्त्रालयअन्तर्गतको सूचना केन्द्रका अनुसार विभिन्न श्रोतका तथ्याङ्क र नियामक नियम जोडेर उत्सर्जनको हिसाब जाँच्ने तथा सम्भावित त्रुटि पहिचान गर्ने एआई प्रणाली विकास भइरहेको छ। चिनियाँ सौर्य ऊर्जा कम्पनी लोङ्जीले अफ्रिकाका केही देशमा खोप चिसो राख्न र पानीका पम्प चलाउन प्रयोग गर्न सकिने, एआईबाट व्यवस्थापन गरिने सौर्य ऊर्जा तथा भण्डारण प्रणाली पनि प्रस्तुत गरेको थियो।

यी परियोजना कार्यान्वयनका फरक चरणमा छन्। मोजाम्बिकका प्राविधिकले बालीको विश्लेषण राष्ट्रिय बुलेटिनमा समेटिसकेका छन्। नाइलको बहाव अनुमान र थाइल्यान्डमा सुधारिएको मौसम पूर्वानुमानको परीक्षण भने सन् २०२७ का लागि तय छ। ती परीक्षणबाट पूर्वानुमान स्थानीय अवस्थामा कति भरपर्दो हुन्छ र त्यसले समयमै निर्णय लिन कति सघाउँछ भन्ने थाहा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button