गण्डकी परिक्रमा महोत्सव आजदेखि, तीन जिल्लाका तीर्थस्थल जोड्ने २६ किलोमिटर पदयात्रा

ड्रागन मिडिया सम्वाददाता
देवघाटधाममा सोमबारदेखि गण्डकी परिक्रमा महोत्सव हुँदैछ। महोत्सवको मुख्य आकर्षण २६ किलोमिटर लामो पदयात्रा हो। देवघाटको बेणी सङ्गमबाट शुरु हुने यात्रामा श्रद्धालुहरूले तनहुँ, चितवन र नवलपुरका मन्दिर, आश्रम र बौद्ध गुम्बाको परिक्रमा गर्नेछन्।
नेपाल सन्त समाजले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिसँगको समन्वयमा महोत्सव आयोजना गरेको हो। कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलका अनुसार महोत्सवको उद्देश्य देवघाटधामको धार्मिक महत्वबारे जानकारी दिनु, वैदिक सनातन धर्म र संस्कृतिको प्रचार गर्नु तथा क्षेत्रको भौतिक विकासमा टेवा पुर्याउनु हो।
बेणी सङ्गमबाट श्रद्धालुहरू तनहुँतर्फका पशुपतिनाथ र गङ्गा मन्दिर हुँदै गलेश्वर, चक्रवर्ती, महेश, अभय र हरिहर आश्रम पुग्नेछन्। चितवनतर्फको मार्गमा देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, कन्या गुरुकुल, योगी नरहरिनाथ गौशाला, बागेश्वरी मन्दिर तथा नारायणगढको पुल्चोकस्थित श्रीराम मन्दिरलगायतका स्थल समेटिएका छन्।
नवलपुरमा पदयात्रीहरूले गैँडाकोटको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम र शुकदेव भागवताश्रमलगायतका स्थलको परिक्रमा गर्नेछन्। त्यसपछि केलादी र हर्दी हुँदै तनहुँको देवपुर फर्केर साँढेबगर बौद्ध गुम्बा र भुबराह मन्दिरको परिक्रमा गरेपछि मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा महोत्सव समापन हुनेछ।
महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल र्याली निकालिएको थियो।





