८ मंसिर २०८३, सोमबार

पञ्चकोटमा १०८ फिट अग्लो गण्डकी कलशको तेस्रो तला ढलान गर्ने तयारी

ड्रागन मिडिया सम्वाददाता

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माणाधीन ‘विश्वशान्ति गण्डकी कलश’को तेस्रो तला ढलान गर्ने तयारी भइरहेको छ। बजेट अभावले लामो समय रोकिएको काम संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत सात करोड रुपैयाँको ठेक्कामार्फत अघि बढेको हो।

पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार शहरी विकास तथा भवन निर्माण विभागमार्फत भइरहेको कामको लक्ष्य आगामी दुई वर्षभित्र बाहिरी संरचना तयार पार्नु हो। गुरुयोजनामा लिफ्टसहितको १३ तले कङ्क्रिट संरचनालाई १०८ फिट अग्लो कलशको स्वरूप दिने उल्लेख छ।

विस्तृत परियोजना प्रतिवेदनले कलशको सम्पूर्ण निर्माण लागत ४५ करोड रुपैयाँभन्दा बढी अनुमान गरेको छ। आचार्यका अनुसार संरचनालाई कलशको अन्तिम स्वरूप दिन र भित्री भाग तयार पार्न महायज्ञ तथा भक्तजनबाट दान जुटाउने योजना छ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा अघि सारिएको कलशको शिलान्यास २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा भएको थियो। परिषदका अनुसार कलशले गण्डकी सभ्यतामा नदीको महत्व झल्काउनुका साथै जलसम्पदा संरक्षणको सन्देश दिनेछ।

पञ्चकोटमा गण्डकी माता मन्दिर, शिशमहल, हनुमान शिला, गरुड शिला र पाँच हजार ५५५ किलोको महाघण्ट निर्माण भइसकेका छन्। परिषदले कलश पूरा भएपछि धार्मिक पर्यटकका लागि पञ्चकोटको आकर्षण थप बढ्ने अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button