शाह–मोदी वार्ता आज, भोटेकोशी पुनर्निर्माण र थप हवाई प्रवेशमार्ग नेपालको प्राथमिकतामा

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीको हैदराबाद हाउसमा पहिलो औपचारिक वार्ता हुँदैछ। नेपालले भोटेकोशीको बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र नयाँ पूर्वाधारका लागि आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्गलाई प्राथमिकतामा राखेको छ।
नेपालले पूर्वाधार निर्माण र पुनर्निर्माणका लागि अनुदान र सहुलियतपूर्ण ऋणसहित दुई अर्ब अमेरिकी डलर मागेको छ। नेपाली अधिकारीलाई उद्धृत गर्दै द काठमाडौँ पोस्टले भारतले वार्तापछि एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको सहयोग घोषणा गर्न सक्ने जनाएको छ। सोमबार बिहानसम्म सहयोगको कुल रकम र त्यसमा अनुदान तथा ऋणको हिस्सा औपचारिक रूपमा सार्वजनिक भएको छैन।
हवाई प्रवेशमार्गका विषयमा आइतबार परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच छलफल भएको थियो। नेपालले पश्चिमबाट आउने अन्तर्राष्ट्रिय उडानका लागि थप प्रवेशमार्ग माग्दै आएको छ। भारतले भने पश्चिम बंगालको बागडोगरा विमानस्थलबाट उडेका विमानले निर्धारित हवाई मार्गमा प्रवेश गर्ने क्रममा नेपाली हवाई क्षेत्र प्रयोग गर्न पाउने प्रस्ताव राखेको छ। नेपालले उक्त प्रस्तावको विस्तृत प्राविधिक विवरण मागेको छ। थप प्रवेशमार्गबारे सहमति जुट्न बाँकी छ।
दुई प्रधानमन्त्रीको उपस्थितिमा जनकपुर–अयोध्या सिधा रेल सेवा शुभारम्भ गर्ने र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको विद्युतीय माध्यमबाट शिलान्यास गर्ने तयारी छ। वार्तापछि संयुक्त वक्तव्यसँगै १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ। प्रस्तावित दृष्टिपत्रमा व्यापार, यातायात, डिजिटल सम्पर्क, जलश्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य र खेलकुदमा सहकार्यका विषय समेटिएका छन्।
दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका शाहले सोही दिन जयशंकरसँग व्यापार, पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धबारे छलफल गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझ नेपाल–भारत व्यावसायिक गोलमेचमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी र व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शाह र मोदीले सञ्चारमाध्यमलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। शाहको सचिवालयका अनुसार सम्बोधनपछि प्रश्नोत्तर हुने छैन। प्रधानमन्त्री शाह भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरी सोमबार साँझ काठमाडौँ फर्कने कार्यक्रम छ।





