८ मंसिर २०८३, सोमबार

दशौँ राष्ट्रिय खेलकुदमा ट्रफी यात्रा भएन, मिति फेरिँदा खेलाडीको तयारी प्रभावित

ड्रागन मिडिया सम्वाददाता

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद शुरु हुन केही दिन मात्र बाँकी रहँदा सातै प्रदेशमा ट्रफी घुमाउने योजना कार्यान्वयन भएको छैन। प्रतियोगिताको मिति पटकपटक फेरिँदा खेलाडीलाई प्रशिक्षण मिलाउन कठिन भएको छ। खेलज्योतिलाई विभिन्न प्रदेश र स्थानीय समुदायसम्म पुर्‍याउने तयारी पनि देखिएको छैन।

पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा उद्घाटनभन्दा एक–दुई महिनाअघि नै ट्रफी यात्रा शुरु भएको थियो। विभिन्न ठाउँका खेलाडी र खेलप्रेमीले आफ्नै समुदायमा ट्रफी हेर्ने अवसर पाएका थिए। राष्ट्रिय खेलकुद परिषदका सचिव रामचरित्र मेहताले भने यसपटक सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट सातै प्रदेशमा प्रतियोगिताको प्रचार भइरहेकाले ट्रफी घुमाउन आवश्यक नदेखिएको बताएका छन्।

कान्तिपुरसँग कुरा गर्दै एक ओलम्पियनले ट्रफी यात्राको महत्व प्रचारसँगै खेलाडीको प्रेरणासँग पनि जोडिएको बताए। उनका अनुसार आफूले जित्न चाहेको ट्रफी नजिकबाट देख्न र छुन पाउँदा खेलाडीमा प्रतिस्पर्धाको उत्साह बढ्छ। आफ्नै समुदायमा ट्रफी आइपुग्दा दर्शकले पनि प्रतियोगितासँग आत्मीयता अनुभव गर्छन्।

यसअघि लुम्बिनीबाट ल्याइने शान्ति दीप यसपटक दैलेखबाट ल्याउने तयारी छ। ती ओलम्पियनले खेलज्योति विभिन्न जिल्लाका बस्ती हुँदै लैजान र यात्रामा स्थानीय खेलप्रेमीलाई पनि सहभागी गराउन आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button