विपुल मगरको निर्णायक बचाउमा मरिक एफसी धरानलाई अलैँची कपको उपाधि

ड्रागन मिडिया सम्वाददाता
गोलरक्षक विपुल मगरले सडन डेथमा तेह्रथुमको फेदाप गाउँपालिकाका आविष्कार खड्काको पेनाल्टी रोकेपछि मरिक एफसी धरानले दोस्रो अलैँची कप फुटबलको उपाधि जितेको छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा आइतबार भएको फाइनलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि धरानले पेनाल्टी सुटआउटमा फेदापलाई ६–५ ले हरायो।
सबिन राईले १२औँ मिनेटमा गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए। फेदापका पूजन चौधरीले ५२औँ मिनेटमा बराबरी गोल फर्काए। सुटआउटमा दुवै टोलीले सुरुका पाँचै प्रहारमा गोल गरे। सडन डेथमा राज लिम्बूले धरानका लागि छैटौँ गोल गरेपछि मगरले खड्काको प्रहार रोकेर जित सुनिश्चित गरे।
फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ का अवसरमा आयोजित प्रतियोगितामा विजेता र उपविजेता टोलीका खेलाडीले पुरस्कारस्वरूप अलैँचीका बोरा बोकेर फर्किए। आइतबारको बजार मूल्यअनुसार धरानले ३ लाख २ हजार ८३ रुपैयाँ र फेदापले १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची पाए। विधागत पुरस्कार विजेतालाई पनि अलैँची प्रदान गरियो।





