चीनमा शेयर कर्जाको न्यूनतम मार्जिन ८० प्रतिशतमा झर्ने, उही धितोमा २५ प्रतिशत बढी कर्जा लिन सकिने

ड्रागन मिडिया समाचार कक्ष
चीनका सांघाई, शेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले शेयर खरिद गर्न लिइने कर्जाको न्यूनतम मार्जिन अनुपात १०० प्रतिशतबाट ८० प्रतिशतमा झार्ने घोषणा गरेका छन्। चीनको धितोपत्र नियामक आयोगको स्वीकृतिपछि आइतबार घोषित व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ। यसबाट बजारमा थप कर्जा उपलब्ध गराउने क्षमता झन्डै ४०० अर्ब युआनले बढ्न सक्ने अनुमान छ।
नयाँ व्यवस्थाले लगानीकर्तालाई उही धितोमा २५ प्रतिशत बढी कर्जा लिने सुविधा दिन्छ। सांघाई सेक्युरिटिज न्युजका अनुसार १० लाख युआनको धितो राख्ने लगानीकर्ताले हाल शेयर खरिदका लागि बढीमा १० लाख युआन कर्जा लिन सक्छन्। नयाँ अनुपात लागू भएपछि त्यही धितोमा कर्जाको अधिकतम सीमा १२ लाख ५० हजार युआन पुग्नेछ।
चीनमा शेयर खरिदका लागि प्रवाह भएको र भुक्तान हुन बाँकी मार्जिन कर्जा करिब २२ खर्ब युआन छ। सांघाई सेक्युरिटिज न्युजको अनुमानअनुसार उपलब्ध धितोबाट झन्डै १०० अर्ब युआन थप कर्जा दिन सकिनेछ। विद्यमान कर्जा सम्झौतामा पनि नयाँ अनुपात लागू गर्दा थप ३०० अर्ब युआनको क्षमता खुल्न सक्छ। बजारमा वास्तवमै कति रकम पुग्छ भन्ने कुरा लगानीकर्ताले उपलब्ध कर्जा कति उपयोग गर्छन् भन्नेमा निर्भर हुनेछ।
चिनियाँ नियामकहरूले यसै वर्षको शुरुतिर अत्यधिक ऋण लिएर शेयर किन्ने प्रवृत्ति नियन्त्रण गर्न न्यूनतम मार्जिन बढाएका थिए। वर्षको दोस्रो अर्धमा बजार उच्च विन्दुबाट तल झर्नुका साथै कारोबार र मार्जिन कर्जा दुवै घटेपछि नियम खुकुलो पारिएको हो। बेइजिङ सामाजिक विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता वाङ पेङले ग्लोबल टाइम्ससँग नयाँ व्यवस्थाले बजारमा लगानीयोग्य रकम बढाउन र लगानीकर्ताको विश्वास उकास्न सघाउन सक्ने बताए। उनका अनुसार दीर्घकालीन सुधार भने अर्थतन्त्रको अवस्था, सूचीकृत कम्पनीको गुणस्तर र जोखिम व्यवस्थापनमा निर्भर रहनेछ।
यसैबीच, शेन्जेन स्टक एक्सचेन्जले आफ्नो ‘चाइनेक्स्ट’ बजारमा शेयर किन्ने र बेच्ने मूल्य नियमित रूपमा प्रस्ताव गर्ने बजार निर्माताको व्यवस्था ल्याउन मस्यौदामाथि सार्वजनिक राय मागेको छ। सिन्ह्वाका अनुसार सांघाई र शेन्जेन स्टक एक्सचेन्जले कारोबार एकाइ प्रयोग शुल्कमा छुट दिने निर्णय पनि गरेका छन्। सूचीकरण र ऋणपत्र कारोबार शुल्कमा दिइँदै आएको छुट सन् २०२८ सम्म थप दुई वर्ष कायम रहनेछ।





