हङकङमा एआईआईबीको कार्यालय खोल्ने सम्झौता, पूर्वाधारमा निजी लगानी जुटाउने लक्ष्य

ड्रागन मिडिया समाचार कक्ष
चीन सरकार र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)बीच हङकङमा बैंकको कार्यालय स्थापना गर्ने सम्झौता भएको छ। चीनको अर्थ मन्त्रालयका अनुसार शनिबार हङकङमा आयोजित समारोहमा अर्थमन्त्री लान फोआन र बैंककी अध्यक्ष जोउ जियायीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बैंकका अनुसार सम्झौताले कार्यालयको कानुनी हैसियत, सञ्चालन, विशेषाधिकार र उन्मुक्तिसम्बन्धी आधार तय गरेको छ। कार्यालय स्थापनाका लागि केही कानुनी प्रक्रिया पूरा गर्न बाँकी छ। हङकङका वित्त सचिव तथा एआईआईबीका गभर्नर पल चानले कार्यालयलाई विशेषाधिकार र उन्मुक्ति प्रदान गर्न आवश्यक कानुनी व्यवस्था अघि बढाइने बताए। सिन्ह्वाका अनुसार हङकङ सरकारले बैंकको आयोजना तयारी विशेष कोषमा दुई करोड अमेरिकी डलर योगदान गर्नेछ।
अध्यक्ष जोउले हङकङको विकसित पुँजी बजार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको सम्बन्धले सदस्य अर्थतन्त्रका पूर्वाधार आयोजनाका लागि थप निजी पुँजी जुटाउन मद्दत गर्ने बताइन्। उनका अनुसार नयाँ कार्यालयमार्फत बैंकले लगानीकर्ता र विकास साझेदारसँग प्रत्यक्ष सम्पर्क बढाउन तथा लगानी जुटाउने नयाँ वित्तीय साधनहरू प्रयोग गर्न सक्नेछ।
अर्थमन्त्री लानले कार्यालय स्थापनाबाट बैंकको अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच बढ्ने र अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका रूपमा हङकङको भूमिका थप सुदृढ हुने बताए।
हाइनान विश्वविद्यालयको बेल्ट एन्ड रोड अनुसन्धान संस्थानका अध्यक्ष लियाङ हाइमिङले हङकङमा उपलब्ध विविध वित्तीय साधनले बैंकलाई अन्तर्राष्ट्रिय बजारबाट पुँजी जुटाउन सहज बनाउने बताए। ग्लोबल टाइम्ससँग उनले हङकङका कानुनी, लेखा, लेखापरीक्षण र वित्तीय परामर्श सेवाबाट आयोजना तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने धारणा राखे। उनका अनुसार हरित वित्तमा हङकङले हासिल गरेको अनुभवले वातावरणमैत्री पूर्वाधारमा लगानीका लागि पनि सहकार्यको अवसर खोल्नेछ।





