अयोध्याबाट करिब एक हजार यात्रु लिएर सरयू–कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो

ड्रागन मिडिया सम्वाददाता
भारतको अयोध्याबाट करिब एक हजार यात्रु लिएर सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। जनकपुर रेलवे स्टेशनमा मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले यात्रुहरूलाई स्वागत गर्यो।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीको हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर अयोध्या–जनकपुरधाम रेल सेवा उद्घाटन गरेका थिए। त्यसपछि दिउँसो १ बजेर ४५ मिनेटमा रेल अयोध्याको क्यान्ट रेलवे स्टेशनबाट जनकपुरधामका लागि छुटेको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भिडियोमार्फत बिदाइ कार्यक्रममा सहभागी भएका थिए।
यसअघि कात्तिकको दोस्रो साता अयोध्याबाट जनकपुरधामसम्म रेल ल्याएर परीक्षण गरिएको थियो। भारत सरकारको सहयोगमा जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ।
नेपालले जयनगर–जनकपुरधाम–भंगहा खण्डमा आफ्ना दुई रेलबाट दैनिक तीन पटक यात्रु सेवा सञ्चालन गर्दै आएको छ। यो खण्डलाई नेपालले निर्माण गरिरहेको पूर्व–पश्चिम रेलमार्गसँग जोड्न भंगहाबाट बर्दिवाससम्म रेलमार्ग विस्तार भइरहेको छ।





