चीनको हेचेमा गुराँस उद्यान खुलेको सात महिनापछि धुलिखेलमा पियोनी उद्यान उद्घाटन

ड्रागन मिडिया सम्वाददाता
चीनको शान्दोङ प्रान्तस्थित हेचे शहरमा ‘नेपाल गुराँस उद्यान’ खुलेको करिब सात महिनापछि काभ्रेको धुलिखेलमा ‘हेचे पियोनी उद्यान’ उद्घाटन भएको छ। हेचे नगरपालिकाको सहयोगमा निर्माण गरिएको उद्यानमा विभिन्न जातका पियोनी रोपिएका छन्। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार उद्यानको उद्घाटन गरे।
गत अप्रिलमा हेचेमा गुराँस उद्यान उद्घाटन हुँदा नेपाल र चीनका प्रतिनिधिले गुराँस र पियोनीका बीउ साटेका थिए। राजदूत चाङले दुई शहरबीच फूलका बीउ साटेर शुरु भएको चिनजानलाई अब शिक्षा, संस्कृति, पर्यटन र आर्थिक सहकार्यमा विस्तार गर्न सकिने बताए। त्यसका लागि स्थानीय सरकारसँगै दुवै शहरका सामाजिक संस्था, उद्यमी, विज्ञ र युवाबीच सम्पर्क बढाउन उनले जोड दिए।
राजदूत चाङको गृहनगर हेचे चीनको ‘पियोनी राजधानी’का रूपमा परिचित छ। उनका अनुसार त्यहाँ पियोनी खेतीको इतिहास १ हजार ५ सय वर्षभन्दा पुरानो छ र १ हजार ३ सय ८ जातका पियोनी पाइन्छन्। चीनमा ‘फूलहरूको राजा’ मानिने पियोनी र नेपालको गुराँसका विभिन्न जात आदानप्रदान गर्न, संयुक्त रूपमा उन्नत जात विकास गर्न र बिरुवामा लाग्ने रोग तथा कीरा नियन्त्रणका उपाय साट्न चिनियाँ पक्ष इच्छुक रहेको उनले बताए।
धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले उद्यानले नगरमा हरियाली बढाउनुका साथै पर्यटकका लागि नयाँ आकर्षण थप्ने विश्वास व्यक्त गरे। धुलिखेलको हिमाली दृश्य, स्थानीय परिकार र सांस्कृतिक विविधता यहाँका आकर्षण रहेको उल्लेख गर्दै उनले पर्यटक आगमन बढ्दा होटल, रेस्टुरेन्ट र साना व्यवसायमार्फत स्थानीय परिवारको आम्दानी बढ्न सक्ने बताए।
जंगमले अरनिको राजमार्गको सञ्चालन र स्तरोन्नतिमा पनि चिनियाँ सहयोगको आग्रह गरे। राजमार्ग सुधारबारे यसअघि पनि राजदूतसँग छलफल गरेको उल्लेख गर्दै उनले आगामी दिनमा हेचे र धुलिखेलबीच पर्यटन, संस्कृति र वातावरण संरक्षणमा सहकार्य विस्तार हुने अपेक्षा व्यक्त गरे।





