९ मंसिर २०८३, मंगलवार

कान्डला र पारादीपबाट वीरगन्जसम्म मालवाहक रेल चलाउन पारवहन सन्धि संशोधनको माग

ड्रागन मिडिया सम्वाददाता

वीरगन्जका उद्योगी–व्यवसायीले भारतका कान्डला र पारादीप बन्दरगाहबाट तेस्रो मुलुकसँग व्यापार गर्न नेपाल–भारत पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न माग गरेका छन्। दुवै बन्दरगाहबाट वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहसम्म नियमित मालवाहक रेल, प्रतिस्पर्धी भाडादर र स्पष्ट भन्सार प्रक्रिया भए मात्रै नयाँ विकल्पले ढुवानी खर्च र समय घटाउने उनीहरूको भनाइ छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा भएको वार्तापछि भारतले गुजरातको कान्डलास्थित दीनदयाल बन्दरगाहबाट नेपालको पारवहन व्यापारका लागि नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेको हो। ओडिशाको पारादीप बन्दरगाहमा भने आवश्यक पूर्वाधार तयार भएपछि पहुँच दिइने संयुक्त वक्तव्यमा उल्लेख छ। कान्तिपुरका अनुसार नेपालले ओडिशाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्ने प्रस्ताव राखेको थियो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार नयाँ मार्ग सञ्चालन गर्न प्रवेश र निकास बिन्दु, स्वीकृत रेलमार्ग, भन्सार जाँच गर्ने स्थान र आवश्यक पारवहन कागजात दुवै देशले तोक्नुपर्छ। हाल नेपालले तेस्रो मुलुकसँगको व्यापारमा कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। कोलकाता र हल्दियामा जहाज पर्खनुपर्ने, कन्टेनर समयमै नपाइने वा सामान छुटाउन ढिलाइ हुने अवस्थामा नयाँ मार्ग उपयोगी हुन सक्ने गौतमको भनाइ छ।

उद्योगी गणेश लाठका अनुसार व्यवसायीले बन्दरगाह छान्दा सामान वीरगन्ज आइपुग्दासम्मको कुल खर्च हेर्छन्। समुन्द्री भाडा सस्तो भए पनि बन्दरगाहबाट वीरगन्जसम्मको रेल वा सडक भाडा महँगो परे बचत थोरै हुन्छ। जहाज कति नियमित आउँछन्, सामान चढाउन र ओराल्न कति शुल्क लाग्छ र भन्सारबाट छुटाउन कति दिन लाग्छ भन्नेले पनि आयातको लागत निर्धारण गर्छ। सिंगापुरमा एक जहाजबाट अर्कोमा सामान सार्ने सुविधा र त्यसपछिको नियमित जहाज सम्पर्क पनि महत्त्वपूर्ण हुने उनले बताए।

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीवमोहन झाले कान्डला र पारादीप दुवै भारतीय रेल सञ्जालसँग जोडिएकाले ठूलो परिमाणमा सामान ल्याउने सम्भावना रहेको बताए। उनका अनुसार थप बन्दरगाह प्रयोग गर्न पाए नेपाली आयातकर्ताको सीमित मार्गमाथिको निर्भरता घट्न सक्छ।

वीरगन्जबाट पारादीपसम्मको सडक दूरी करिब १ हजार ४५ किलोमिटर छ। पारादीपमा मालवाहक रेलका लागि पूर्वाधार भए पनि त्यहाँबाट सिर्सियासम्म नेपालका सामान बोक्ने रेलको मार्ग, भाडा र समयतालिका अझै तय हुन बाँकी छ। यी विवरण टुंगिएपछि मात्रै आयातकर्ता र निर्यातकर्ताले प्रचलित मार्गसँग खर्च र समय तुलना गरी आफ्नो कारोबारका लागि उपयुक्त बन्दरगाह रोज्न सक्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button