रुसी खेलाडीलाई रोक्दा युरोपेली देशको प्रतियोगिता आयोजना गर्ने क्षमता प्रभावित हुने झुरोभाको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
रुसी खेलाडीलाई प्रतिस्पर्धाबाट वञ्चित गरिए भविष्यमा युरोपेली देशहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसक्ने चेतावनी रुसी संसदको तल्लो सदन स्टेट डुमाकी सदस्य स्वेतलाना झुरोभाले दिएकी छन्। मंगलबार रुसी समाचार संस्था ताससँग कुरा गर्दै उनले केही युरोपेली सरकारका नीतिले खेलकुदमा पुर्याएको क्षति अन्तर्राष्ट्रिय खेल पदाधिकारीहरूले बुझ्न थालेको बताइन्।
तासका अनुसार युरोपेली आयोगले रुसविरुद्धको २२औँ प्रतिबन्ध प्याकेजमा रुसी खेलाडीलाई युरोपेली संघभित्र प्रतिस्पर्धा गर्न पूर्ण रोक लगाउने प्रस्ताव समेट्ने विषयमा विचार गरिरहेको छ। रुसका आधिकारिक प्रतीक प्रदर्शनमा रोक लगाउने र रुसी खेलाडी सहभागी हुने प्रतियोगिताका अन्तर्राष्ट्रिय आयोजक संस्थालाई युरोपेली वित्तीय सहयोग नदिने उपाय पनि विचाराधीन छन्।
प्रस्तावमाथि युरोपेली संघका सदस्य देशहरूले छलफल गर्नेछन्। प्याकेज लागू हुन सबै सदस्य देशको स्वीकृति आवश्यक छ। आयोगले डिसेम्बरको अन्त्यसम्ममा प्याकेज अनुमोदन गर्न यसअघि नै आग्रह गरेको तासले जनाएको छ।
तासका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जुलाई ७ मा रुसी ओलम्पिक समितिमाथिको निलम्बन अस्थायी रूपमा हटाउने निर्णय घोषणा गरेको थियो। उसले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी खेलाडीको सहभागितामाथि लगाइएका प्रतिबन्ध हटाउन पनि सिफारिस गरेको थियो।





