पाकिस्तानी अन्तरिक्षयात्रीसहित चीनको शेन्झोउ–२४ सफलतापूर्वक प्रक्षेपण

ड्रागन मिडिया समाचार कक्ष
चीनले बुधबार पाकिस्तानी अन्तरिक्षयात्री मोहम्मद जीशान अली र दुई चिनियाँ सहयात्री सवार शेन्झोउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनको गोबी मरुभूमिस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ८ बजेर १८ मिनेटमा लङ मार्च–२एफ वाई२४ रकेटले यानलाई अन्तरिक्षतर्फ लगेको हो। चिनियाँ मानव अन्तरिक्ष उडानमा विदेशी अन्तरिक्षयात्री सहभागी भएको यो पहिलो अवसर हो।
प्रक्षेपणको करिब दस मिनेटपछि शेन्झोउ–२४ रकेटबाट छुट्टिएर निर्धारित कक्षमा प्रवेश गरेको ग्लोबल टाइम्सले जनाएको छ। कक्षमा प्रवेश गर्दा तीनै जना अन्तरिक्षयात्रीको अवस्था सामान्य थियो।
अभियानको नेतृत्व चिनियाँ अन्तरिक्षयात्री ताङ होङबोले गरेका छन्। टोलीमा चिनियाँ उडान इन्जिनियर वु यी र वैज्ञानिक प्रयोगका उपकरण हेर्ने विशेषज्ञका रूपमा अली सहभागी छन्। ताङका लागि यो चीनको अन्तरिक्ष केन्द्र तियाङगोङतर्फको तेस्रो यात्रा हो भने वुको यो पहिलो अन्तरिक्ष उडान हो। अली तियाङगोङ पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री बन्नेछन्।
चीनको मानव अन्तरिक्ष उडान निकायका अनुसार यानलाई कक्षमा प्रवेश गरेपछि करिब साढे तीन घण्टामा स्वचालित प्रणालीको सहायताले तियाङगोङको मुख्य खण्ड तियानहेको अगाडिको जडान बिन्दुमा जोड्ने योजना छ। टोलीले अन्तरिक्षमा जीव र मानव शरीरसम्बन्धी अध्ययन, सूक्ष्म गुरुत्वको अवस्थामा भौतिकशास्त्रका प्रयोग र नयाँ अन्तरिक्ष प्रविधिको परीक्षण गर्नेछ। केही प्रयोग अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा हुनेछन्।
प्रक्षेपणअघि अलीले चीनमा सात महिना तालिम लिँदा उडानसम्बन्धी शीप सिक्नुका साथै सहयात्रीसँग चिनियाँ भाषामा संवाद गर्न सक्ने भएको बताएका थिए। वुका अनुसार छ महिनाको संयुक्त अभ्यासपछि टोलीका सदस्यले एकअर्काले अब के गर्छन् भन्ने समेत बुझ्न थालेका थिए। टोलीले यान सञ्चालन, आपत्कालीन अवस्थाको सामना र वैज्ञानिक प्रयोगको अभ्यास गरेको थियो।
शेन्झोउ–२४ का लागि रकेट र प्रक्षेपणस्थलका प्रणालीमा सुरक्षा तथा विश्वसनीयता बढाउन १२ वटा प्राविधिक सुधार गरिएको चीनको एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले जनाएको छ। यो लङ मार्च श्रृंखलाको ६८०औँ र शेन्झोउ अन्तरिक्षयानको २४औँ उडान हो।





