१० मंसिर २०८३, बुधबार

चीन–आसियान स्वतन्त्र व्यापार सम्झौता डिसेम्बर १ देखि नयाँ चरणमा, डिजिटल कारोबार र आपूर्ति श्रृंखलामा सहकार्य

ड्रागन मिडिया समाचार कक्ष

चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) बीचको स्वतन्त्र व्यापार क्षेत्रलाई स्तरोन्नति गर्ने तेस्रो चरणको प्रोटोकल डिसेम्बर १ देखि लागू हुँदैछ। चीनको वाणिज्य मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले डिजिटल तथा हरित अर्थतन्त्र, प्राविधिक मापदण्ड र औद्योगिक आपूर्ति श्रृंखलालाई समेट्नेछ। इलेक्ट्रोनिक बिल, भुक्तानी र ढुवानी कागजातको प्रयोगमा तालमेल बढे सीमापार कारोबारको समय र खर्च घट्ने मन्त्रालयको अपेक्षा छ।

सन् २००२ मा स्वतन्त्र व्यापार क्षेत्र निर्माणको प्रक्रिया शुरु हुँदा चीन र आसियानको प्राथमिकता भन्सार महसुल घटाउने र वस्तुको आवागमन सहज बनाउने थियो। सन् २०१० सम्ममा ९० प्रतिशतभन्दा बढी वस्तुमा भन्सार महसुल शून्यमा झरेको थियो। सन् २०१९ मा पूर्ण रूपमा लागू भएको दोस्रो चरणले सेवा र लगानीका बजार थप खुला गर्‍यो। सन् २०२५ को अक्टोबरमा हस्ताक्षर भएको तेस्रो चरणले फरक बजारमा एउटै उत्पादनको परीक्षण र प्रमाणीकरण दोहोर्‍याउँदा उद्योगले बेहोर्नुपर्ने खर्च घटाउने विषयलाई पनि प्राथमिकता दिएको छ।

चिनियाँ भन्सार तथ्याङ्कअनुसार सन् २०२६ का पहिलो दस महिनामा चीन र आसियानबीचको व्यापार अघिल्लो वर्षको सोही अवधिभन्दा २४.२ प्रतिशत बढेर ७६ खर्ब ८० अर्ब युआन पुगेको छ। दुवै पक्ष एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार रहेका छन्। पहिलो आठ महिनामा युन्नान प्रान्तले मात्रै आसियान मुलुकबाट ९ लाख १० हजार टन फलफूल आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ३१.२ प्रतिशत बढी हो।

रेल र जलमार्गको विस्तारले यात्रु तथा मालसामानको सीमापार आवागमनलाई सहज बनाएको छ। चीन–लाओस रेलमार्गमा यस वर्ष नोभेम्बर १६ सम्म ३ लाख ६ सय सीमापार यात्रुयात्रा अभिलेख गरिएको छ। दक्षिण चीनको क्वाङ्सीमा सेप्टेम्बर १६ मा पिङलु नहर खुलेसँगै नाननिङ र भियतनामको क्यान थोबीच मालवाहक सेवा पनि शुरु भएको छ। चिनियाँ केन्द्रीय टेलिभिजनका अनुसार १३४.२ किलोमिटर लामो नहरले सिजियाङ नदी प्रणालीलाई बेइबु खाडीसँग जोडेको छ। यसबाट दक्षिणपश्चिम चीनका सामान समुन्द्रसम्म पुर्‍याउने जलमार्ग ५६० किलोमिटरभन्दा बढी छोटिएको छ। स्थानीय अधिकारीहरूले ढुवानी खर्चमा वार्षिक पाँच अर्ब युआनभन्दा बढी बचत हुने अनुमान गरेका छन्।

डिजिटल सेवामा विस्तार भइरहेको सहकार्यको एउटा उदाहरण थाइल्यान्डको खोन केन शहरमा देखिन्छ। त्यहाँ डिसेम्बरको अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको चिनियाँ कम्पनीको यातायात प्रणालीले बस, विद्युतीय मोटरसाइकल र साझा प्रयोगका विद्युतीय साइकललाई एउटै सेवामा जोड्नेछ। सिन्ह्वाका अनुसार यात्रुले क्यूआर कोडमार्फत यात्रा आरक्षण गर्न, सवारी फेर्न र साझा सवारीको ताला खोल्न सक्नेछन्। स्थानीय यातायात सञ्चालकले पनि सवारीको समयतालिका मिलाउन यही प्रणाली प्रयोग गर्न सक्नेछन्।

मलेसियामा चिनियाँ कम्पनी एक्स स्क्वायर रोबोट र हुलाक सेवा प्रदायक पोस मलेसियाबीच पार्सल उठाउने र छाँट्ने काममा रोबोटको प्रयोग सम्भव छ कि छैन भन्ने अध्ययन गर्न समझदारी भएको छ। कम्पनीका अनुसार उपकरण परीक्षण वा प्रयोगमा ल्याउन छुट्टै सम्झौता गर्नुपर्नेछ।

दक्षिणपश्चिम चीनको छोङछिङमा सोमबार शुरु भएको चीन–आसियान सप्ताहमा कृत्रिम बुद्धिमत्ता, तथ्याङ्क प्रशोधन र सीमापार कम्प्युटिङ सेवाबारे पनि छलफल हुँदैछ। चीनको वाणिज्य मन्त्रालयले डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र, प्राविधिक मापदण्ड र साना तथा मझौला उद्यमका लागि आसियानसँग मिलेर छुट्टाछुट्टै उपसमिति बनाउने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button