कृत्रिम बुद्धिमत्तासम्बन्धी ७८ अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा चीनको नेतृत्व

ड्रागन मिडिया समाचार कक्ष
चीनले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ७८ अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा नेतृत्व गरेको चीनको बजार नियमनसम्बन्धी राज्य प्रशासनले जनाएको छ। तीमध्ये २९ मापदण्ड विभिन्न क्षेत्रले साझा रूपमा प्रयोग गर्ने आधारभूत विषयसँग सम्बन्धित छन्। बाँकी ४९ मापदण्ड शहर व्यवस्थापन र औद्योगिक उत्पादनलगायत क्षेत्रमा एआईको प्रयोगसँग सम्बन्धित छन्।
प्रशासनको मापदण्ड नवप्रवर्तन विभागका उपप्रमुख सुन वेईले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार प्रमुख प्रविधि कम्पनी र अनुसन्धान संस्थासँगको सहकार्यमा २९ आधारभूत तथा साझा मापदण्ड तयार पारिएका हुन्। तिनले तथ्याङ्क व्यवस्थापन, मानिस र कम्प्युटरबीचको अन्तरक्रिया तथा एआई प्रणालीको सुरक्षा र विश्वसनीयता समेट्छन्।
क्षेत्रगत प्रयोगका लागि ४९ मापदण्ड तयार पार्ने काममा प्रशासनले १५ प्राविधिक मापदण्ड निकायबीच समन्वय गरेको सुनले बताए। उनका अनुसार चीनले औद्योगिक उत्पादन, शहरी सेवा, ढुवानी तथा आपूर्ति व्यवस्थापन र जल व्यवस्थापनमा एआई प्रयोग गर्दाको अनुभवलाई अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा उपयोग गरेको छ। यस्ता मापदण्डले अन्य देशका उद्योग र सेवा प्रदायकलाई पनि एआई प्रविधि व्यापक रूपमा प्रयोग गर्न सघाउने उनको भनाइ छ।
चीनले अन्य मुलुकसँग मिलेर नयाँ सामग्री सिर्जना गर्ने एआई प्रणालीका जोखिम व्यवस्थापन गर्न निर्देशिका पनि तयार पारेको छ। यसमा वास्तविकजस्ता देखिने नक्कली श्रव्यदृश्य सामग्री अर्थात् ‘डिपफेक’ र एआई मोडेलको नतिजा प्रभावित गर्न त्यसको प्रशिक्षणमा प्रयोग हुने तथ्याङ्कमा जानाजान गरिने हेरफेरजस्ता जोखिम समेटिएका छन्।
सिन्ह्वाका अनुसार चिनियाँ प्रशासनले यो पहललाई सामग्री सिर्जना गर्ने एआईको शासन व्यवस्थामा केन्द्रित विश्वकै पहिलो अन्तर्राष्ट्रिय मापदण्ड प्रस्तावका रूपमा वर्णन गरेको छ। यसले जोखिम व्यवस्थापनका उपायबारे विभिन्न देशबीच साझा समझ बनाउन सघाउने प्रशासनको भनाइ छ।





