११ मंसिर २०८३, बिहीबार

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल आज फर्कँदै, सिचुवानसँग पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर आज मंसिर १० गते बिहीबार नेपाल फर्कने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा कात्तिक २९ गते काठमाडौंबाट प्रस्थान गरेको टोलीले भ्रमणका क्रममा सिचुवान प्रान्तसँग सीमापार यातायात, विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिलगायतका क्षेत्रमा सहकार्यको प्रस्ताव गरेको छ।

सिचुवानको राजधानी छेङ्दुमा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तीय समितिका सचिव तथा प्रान्तीय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष वाङ स्याओहुईसँग भेटवार्ता गरेको थियो। भेटमा आचार्यले पाँच प्राथमिकता प्रस्तुत गरे। तीमध्ये पहिलो, सीमापार यातायात पूर्वाधार र दोस्रो, पर्वतीय विज्ञान तथा विपद् जोखिम न्यूनीकरण थिए। बाँकी तीन प्राथमिकतामा स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल नवप्रवर्तन समेटिएका थिए।

सीमापार व्यापारका विषयमा नेपाली टोलीले बाह्रै महिना चल्ने सडक, सुक्खा बन्दरगाहको स्तरोन्नति र भन्सार प्रणालीको आधुनिकीकरणमा सहकार्य गर्न प्रस्ताव गरेको थियो। नेपाल र सिचुवानका पर्वतीय क्षेत्रमा बाढीपहिरो र सडक सुरक्षाका चुनौती मिल्दाजुल्दा भएकाले दुवैतर्फका विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञलाई जोड्न सकिने धारणा पनि टोलीले राखेको थियो। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना र सुरक्षित सडक निर्माणमा एकअर्काको अनुभव तथा प्रविधि उपयोग गर्ने विषय छलफलमा उठेका थिए।

भेटमा गत भदौको सीमापार बाढीले नेपाल र चीन दुवैतर्फ पुर्‍याएको क्षतिबारे पनि कुराकानी भएको थियो। आचार्यले ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालका प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए। वाङले नेपालसँग प्रान्तीय तहमा राजनीतिक र सरकारी सम्पर्क बढाउन सिचुवान इच्छुक रहेको बताए। उनले दुई देशका नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने प्रतिबद्धता जनाए।

रास्वपा प्रवक्ता जगदीश खरेलले भ्रमणअघि सार्वजनिक गरेको विवरणअनुसार सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र नागरिकको अपेक्षाअनुसार राजनीतिक नेतृत्वले काम गर्ने विषयमा अनुभव आदानप्रदान गर्नु भ्रमणको उद्देश्य थियो। सिचुवानका साथै हाङचोउ र बेइजिङ पनि टोलीको पूर्वनिर्धारित भ्रमण कार्यक्रममा समेटिएका थिए।

प्रतिनिधिमण्डलमा महामन्त्री आचार्यसँगै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्। टोलीमा लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेशकुमार सापकोटासहित पार्टीका अन्य प्रतिनिधि पनि छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button