न्युयोर्कमा तीव्र हावाको पूर्वानुमानपछि मेसीजको १००औँ थ्याङ्क्सगिभिङ परेड शनिबारलाई सर्यो

ड्रागन मिडिया समाचार कक्ष
न्युयोर्कमा तीव्र हावा चल्ने र तटीय क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमानपछि मेसीजले आफ्नो १००औँ थ्याङ्क्सगिभिङ डे परेड बिहीबारबाट शनिबारलाई सारेको छ। आयोजक मेसीजले बुधबार जारी गरेको वक्तव्यमा सहभागी र दर्शकको सुरक्षालाई ध्यानमा राखेर नगर प्रशासन र सम्बन्धित निकायसँगको परामर्शपछि मिति सारिएको जनाएको छ।
सिन्ह्वाका अनुसार न्युयोर्क सहरको आपत्कालीन व्यवस्थापन निकायले बिहीबार प्रतिघण्टा ८० देखि ९६ किलोमिटरको गतिमा हावाका झोक्का चल्न सक्ने जनाएको छ। सहरको सुरक्षा नियमअनुसार हावाको निरन्तर गति प्रतिघण्टा ३७ किलोमिटर नाघेमा वा हावाका झोक्काको गति प्रतिघण्टा ५५ किलोमिटरभन्दा बढी भएमा परेडका विशाल बेलुन उडाउन पाइँदैन।
अमेरिकी राष्ट्रिय मौसम सेवाले बिहीबारका लागि तीव्र हावा र तटीय बाढीको चेतावनी जारी गरेको छ। नगरको आपत्कालीन व्यवस्थापन निकायले पनि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
सन १९२४ मा शुरु भएको मेसीज परेड अमेरिकामा थ्याङ्क्सगिभिङ पर्वको प्रमुख परम्परामध्ये एक हो। सिन्ह्वाका अनुसार मौसमका कारण परेडको मिति सारिएको यो पहिलो पटक हो।





