कम्बोडियामा चीनसँगको ‘गोल्डेन ड्रागन’ सैन्य अभ्यास शुरु, चिनियाँ ट्याङ्क पनि सहभागी

ड्रागन मिडिया समाचार कक्ष
कम्बोडियाको रिआम बन्दरगाहमा बुधबार बिहान चीन र कम्बोडियाको संयुक्त सैन्य अभ्यास ‘गोल्डेन ड्रागन–२०२६’ शुरु भएको छ। कम्बोडिया–चीन संयुक्त सहयोग तथा प्रशिक्षण केन्द्रमा आयोजित उद्घाटन समारोहमा चीनका ‘टाइप ९६ए’ मुख्य युद्धक ट्याङ्क पनि देखिए। चिनियाँ सैन्य मामिलाका जानकार वाङ युनफेईले यसअघिका सार्वजनिक विवरणका आधारमा ‘गोल्डेन ड्रागन’ अभ्यास श्रृंखलामा मुख्य युद्धक ट्याङ्क सहभागी भएको यो पहिलो पटक हुन सक्ने बताए।
चिनियाँ प्रसारक सीसीटीभीका अनुसार ‘शान्ति, मित्रता र सहकार्य’ मूल विषय रहेको अभ्यास डिसेम्बर ९ सम्म चल्नेछ। दुवै देशका सैनिकले स्थल, समुद्र र हवाई क्षेत्रमा समन्वय गर्दै आतंकवाद तथा समुद्री डकैतीविरुद्धको कारबाही र मानवीय राहतको अभ्यास गर्नेछन्। घाइतेको उपचार र उद्धार तथा समुद्रमा संयुक्त खोज र उद्धार यसका प्रमुख गतिविधि हुन्।
चीनबाट स्थलसेना, नौसेना, वायुसेना र संयुक्त रसद सहयोग बलका सैनिक सहभागी छन्। उद्घाटन समारोहमा दुवै देशका सैन्य प्रतिनिधिसँगै कम्बोडियास्थित विभिन्न देशका सैनिक सहचारी पनि उपस्थित थिए।
रिआमको संयुक्त सहयोग तथा प्रशिक्षण केन्द्र ५ अप्रिल २०२५ मा सञ्चालनमा आएको थियो। चिनियाँ रक्षा मन्त्रालयका अनुसार गत वर्ष केन्द्रले पहिलो पटक ‘गोल्डेन ड्रागन’को समुद्री अभ्यासमा सहयोग गरेको थियो। वाङले ग्लोबल टाइम्ससँगको कुराकानीमा यसपटक उद्घाटनसमेत त्यहीँ हुनुले अभ्यासको समन्वयमा केन्द्रले थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संकेत दिएको बताए।
चीन र कम्बोडियाले यसअघि सात पटक ‘गोल्डेन ड्रागन’ संयुक्त अभ्यास गरेका छन्। सीसीटीभीका अनुसार यस वर्षको अभ्यास कुनै तेस्रो पक्षलाई लक्षित गरिएको छैन।





