तातोपानीबाट मालवाहक आवागमन खुल्ने मिति अनिश्चित, कोरला हुँदै ढुवानी गर्दा आठ गुणासम्म भाडा

ड्रागन मिडिया सम्वाददाता
सिन्धुपाल्चोकको तातोपानी नाका पर्यटकका लागि खुला रहे पनि मालवाहक कन्टेनरको आवागमन कहिले शुरु हुन्छ भन्ने टुंगो लागेको छैन। रसुवागढी नाका पनि बाढीपहिरोले क्षतिग्रस्त भएपछि चीनबाट सामान ल्याउने व्यवसायीले मुस्ताङको कोरला नाका प्रयोग गरिरहेका छन्। फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार तातोपानीबाट काठमाडौंसम्म एउटा कन्टेनर ल्याउँदा करिब ५० हजार रुपैयाँ भाडा लाग्ने गरेकामा कोरलाबाट ल्याउँदा चार लाख रुपैयाँसम्म पर्छ।
कान्तिपुरमा प्रकाशित विवरणअनुसार चिनियाँ पक्षले भदौ १५ देखि बन्द गरेको तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म खुलेको थियो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले त्यसयता मालवाहक कन्टेनरका लागि नाका खोल्ने मितिबारे थप जानकारी नआएको बताए।
सडक डिभिजन कार्यालयका अनुसार नेपालतर्फ बाह्रबिसेदेखि लिपिङसम्मको करिब २६ किलोमिटर सडकमा पहिरो र अन्य अवरोध हटाएपछि ४० फिट लामा कन्टेनर चलाउन सकिने भएको छ। यद्यपि कोदारीको इको क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या कायमै छ। चीनतर्फ खासा क्षेत्रमा सडक र पुल निर्माण भइरहेको छ।
नाका खुलाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघसहित व्यापार र ढुवानी क्षेत्रका संस्थाले सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन्। पूर्वसांसद माधव सापकोटाका अनुसार अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले कात्तिकमा ग्वान्झाउ पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग यस विषयमा छलफल गरेको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले पनि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग नाका सञ्चालनबारे छलफल गरेका छन्।
मालवाहक आवागमन बन्द हुँदा सीमापारको सानो व्यापारमा निर्भर परिवारको आम्दानी पनि रोकिएको छ। तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टी र मार्मिङका बासिन्दा खासा बजारबाट खाद्यान्न, घरायसी तथा विद्युतीय सामान ल्याएर बेच्थे। स्थानीयवासीका अनुसार त्यही आम्दानीले घरखर्च चल्थ्यो, छोराछोरीको पढाइ खर्च र ऋणको किस्ता तिरिन्थ्यो।
नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य राजेश भण्डारीका अनुसार तातोपानीमा निर्भर केही व्यवसायीले अन्य मार्गबाट कारोबार गर्न थालेका छन्। हिउँदमा हिमपातले कोरला मार्गसमेत अवरुद्ध हुन सक्ने भएकाले व्यवसायीलाई आगामी महिनाको ढुवानी प्रबन्ध मिलाउन कठिन भएको उनले बताए।





