बझाङका खेतबारीमा क्रिकेट प्रतियोगिता, बाँस्काटियामा उत्रिए १८ टोली

ड्रागन मिडिया सम्वाददाता
बझाङको खप्तडछान्ना गाउँपालिकास्थित बाँस्काटियामा यस वर्ष दशैँ–तिहारका अवसरमा खेतमै आयोजित क्रिकेट प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरे। त्यसको एक सातामै सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित माझिगाउँमा अर्को प्रतियोगिता भयो, जहाँ दुई दर्जनभन्दा बढी टोली सहभागी भए। यस वर्ष दशैँदेखि छठसम्म बझाङका एक दर्जनभन्दा बढी ठाउँमा क्रिकेट प्रतियोगिता आयोजना भए।
बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा बाँस्काटियामा प्रतियोगिता आयोजना गरिएको थियो। उनका अनुसार खेतबारी, बाटो र खुला चौरमा खेल्दै सिकेका किशोर र युवाको प्रदर्शनले आयोजकलाई नै चकित पार्यो। कम अपेक्षा गरिएका टोलीले पनि प्रतिस्पर्धात्मक खेल खेलेपछि दर्शकको उत्साह बढेको उनले बताए।
माझिगाउँमा भने जिम्माल युवा क्लबले चार वर्षदेखि नियमित प्रतियोगिता गर्दै आएको छ। यस वर्ष विजेताका लागि एक लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको थियो भने उपविजेताले ४० हजार रुपैयाँ पायो। क्लबका संयोजक मुकेश रोकायाका अनुसार वडा र गाउँका टोलीबीच हुने खेलबाट उत्कृष्ट खेलाडी छानेर क्लबले अन्यत्रका प्रतियोगितामा पनि उतार्ने गरेको छ।
नेपाल क्रिकेट संघ बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी क्षेत्रमा क्रिकेट प्रतियोगिता हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ। अहिले युवा क्लब र स्थानीय तहको सहयोगमा प्रतियोगिता अरू बस्तीमा पनि फैलिएका छन्। तलकोट गाउँपालिकाले आफ्नै ‘तलकोट प्रिमियर लिग’ सञ्चालन गर्दै आएको छ।
पिठातोला लायन्स किङ कोब्राका खेलाडी कपिल जोशीका अनुसार नेपाल प्रिमियर लिगमा विभिन्न जिल्लाका खेलाडीले अवसर पाएको देखेपछि गाउँका युवामा पनि क्रिकेटप्रति रुचि बढेको छ। तर प्रतियोगिता खेल्ने टोली बढे पनि नियमित अभ्यासका लागि पिच र व्यवस्थित मैदानको अभाव कायमै छ। उनका अनुसार धेरै खेलाडीले अझै पनि खेतबारी र खुला चौरमै अभ्यास गर्छन्।
गाउँका मेलामा पनि यो परिवर्तन देखिन थालेको छ। खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकायाका अनुसार बझाङका मेलामा परम्परादेखि चल्दै आएका भलिबल र देउडासँगै अहिले क्रिकेट र ब्याडमिन्टनले पनि ठाउँ पाएका छन्।





