डच विदेशमन्त्रीको चीन भ्रमण सम्पन्न, चिप उपकरणको निर्यातमा स्वतन्त्र निर्णय लिने भनाइ

ड्रागन मिडिया समाचार कक्ष
नेदरल्यान्ड्सका विदेशमन्त्री टम बेरेन्डसेनले बुधबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरी तीनदिने चीन भ्रमण सम्पन्न गरेका छन्। पद सम्हालेपछिको पहिलो चीन भ्रमणमा बेरेन्डसेनले निर्यात नियन्त्रणसम्बन्धी निर्णय नेदरल्यान्ड्सले स्वतन्त्र रूपमा लिने बताए। रोयटर्सका अनुसार चीनमा डच कम्पनी एएसएमएलको कारोबार थप सीमित गर्न सक्ने प्रस्तावित अमेरिकी विधेयक पारित हुन नदिन आफ्नो सरकारले पहल गरिरहेको उनले जानकारी दिए। एएसएमएलले अर्धचालक चिप उत्पादनमा प्रयोग हुने उपकरण बनाउँछ।
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार वाङले खुलापन र व्यावहारिकता चीन–नेदरल्यान्ड्स सम्बन्धका विशेषता भएको बताए। उनले चीन र युरोपबीचको सहकार्यमा नेदरल्यान्ड्सलाई महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा लिएको उल्लेख गर्दै आर्थिक विभाजन बढिरहेका बेला व्यापार खुला राख्न र संवादबाट आपसी समझदारी बढाउन जोड दिए।
बेरेन्डसेनले नेदरल्यान्ड्स बहुपक्षीय सहकार्य र स्वतन्त्र व्यापारको पक्षमा रहेको बताए। आर्थिक तथा व्यापारिक सहकार्यलाई दीर्घकालीन बनाउन मतभेदमाथि संवाद र परामर्श आवश्यक रहेको उनको भनाइ थियो। युरोपेली संघ र चीनबीचको सहकार्य सबै पक्षको हितमा रहेको भन्दै उनले सम्बन्धलाई स्थिर राख्न नेदरल्यान्ड्सले रचनात्मक भूमिका खेल्ने बताए।
बेइजिङ पुग्नुअघि बेरेन्डसेनले दक्षिणी चीनको शेन्जेनमा फिलिप्स रेस्पिरोनिक्स र लिमएक्स डाइनामिक्सको भ्रमण गरी स्वास्थ्य प्रविधि र रोबोटिक्समा भएका विकासबारे जानकारी लिएका थिए। उनले चीनमा व्यवसाय गरिरहेका डच उद्यमीसँग त्यहाँका अवसर र चुनौतीबारे पनि छलफल गरे।
चिप व्यापारका विषयमा दुवै देशबीच संवाद जारी छ। नोभेम्बर ५ मा शेन्जेनमा भएको निर्यात नियन्त्रणसम्बन्धी नवौँ बैठकमा दुवै पक्षले सम्पर्क बढाउने र अर्धचालकसहितका उद्योगको आपूर्ति श्रृंखला स्थिर राख्न मिलेर काम गर्ने सहमति जनाएका थिए। यद्यपि, चिनियाँ कम्पनी विङटेक टेक्नोलोजी र त्यसको डच सहायक कम्पनी नेक्सपेरियाको नियन्त्रणसम्बन्धी विवाद कायमै छ। नेक्सपेरियामाथिको आफ्नो नियन्त्रण गुम्ने गरी यसअघि अदालती कदम चालिएपछि विङटेकले नोभेम्बर १६ मा डच अदालतको पछिल्लो फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको थियो।
बेइजिङ विदेशी अध्ययन विश्वविद्यालयका प्राध्यापक छुई होङजियानले ग्लोबल टाइम्ससँगको कुराकानीमा यस भ्रमणको प्रमुख महत्त्व विद्यमान सहकार्य जोगाउनु र द्विपक्षीय सम्बन्धलाई थप बिग्रन नदिनुमा रहेको बताए। फुदान विश्वविद्यालयका चीन–युरोप सम्बन्ध अध्ययन केन्द्रका निर्देशक जियान जुनबोका अनुसार बेइजिङ र हेगबीचको राजनीतिक संवादले चीन र युरोपेली संघबीचको व्यापारिक तनाव कम गर्न पनि सहयोग पुर्याउन सक्छ।





