११ मंसिर २०८३, बिहीबार

युक्रेनी आक्रमणमा एक सातामा ६५ नागरिकको मृत्यु, २२५ घाइते भएको रुसको दाबी

ड्रागन मिडिया समाचार कक्ष

रुसी विदेश मन्त्रालयका विशेष राजदूत रोडियोन मिरोश्निकले नोभेम्बर १६ देखि २२ सम्म युक्रेनी सेनाको आक्रमणमा कम्तीमा ६५ जना सर्वसाधारणको मृत्यु भएको र २२५ जना घाइते भएको बताएका छन्। उनका अनुसार मृत्यु हुनेमा एक बालबालिका र घाइते हुनेमा २१ बालबालिका छन्।

मिरोश्निकका अनुसार उक्त सातामा युक्रेनी सेनाले रुसले आफ्नो भूभाग भनेका क्षेत्रका गैरसैनिक लक्ष्यमा कम्तीमा ८ हजार ४०८ वटा ड्रोन, गोला र क्षेप्यास्त्र प्रहार गरेको थियो। यो संख्या दैनिक औसत करिब १ हजार २०० हो। आक्रमणमा तोपका गोला र रकेटका साथै ‘फ्लेमिङ्गो’ र ‘नेप्च्युन’ क्रुज क्षेप्यास्त्रसमेत प्रयोग गरिएको उनको दाबी छ।

युक्रेन द्वन्द्वको समाधानबारे विभिन्न तहमा छलफल भइरहेका बेला यी आक्रमण भएको मिरोश्निकले बताए। उनले वार्ताको पृष्ठभूमिमा हिंसाको वातावरण सिर्जना गर्ने उद्देश्यले युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाए।

रुसी विदेश मन्त्रालयले उक्त अवधिका आक्रमणसँग सम्बन्धित भन्दै केही तस्बिर पनि सार्वजनिक गरेको छ। हताहतीको विवरण र गैरसैनिक स्थललाई जानाजान निशाना बनाइएको आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button