भरपर्दो फोन सेवा र कबुल गरेअनुसारको इन्टरनेट गति दिन सञ्चारमन्त्रीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकलाई भरपर्दो टेलिफोन सेवा दिन र उपभोक्तासँग कबुल गरेको इन्टरनेट गति उपलब्ध गराउन निर्देशन दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी नियामक निकायको पनि भएको बताए।
तिमिल्सिनाले राजधानीमै फोन सम्पर्क गर्न कठिन हुने र उपभोक्ताले सम्झौतामा तोकिएअनुसारको इन्टरनेट गति नपाउने समस्या औँल्याए। उनका अनुसार लामो समयसम्म दूरसञ्चार क्षेत्रको प्राथमिकता सेवा विस्तार र पहुँच बढाउनमा केन्द्रित हुँदा उपभोक्ताले कस्तो सेवा पाइरहेका छन् भन्ने विषय ओझेलमा परेको छ।
दूरसञ्चार नागरिकको आधारभूत आवश्यकता भएकाले लागत घटाउने र नाफा बढाउने क्रममा सेवाको गुणस्तरमा सम्झौता गर्न नमिल्ने मन्त्रीले बताए। उनले सेवा प्रदायकलाई अनुमतिपत्रका शर्त पालना गर्न र उपभोक्तासँग गरेका प्रतिबद्धता पूरा गर्न निर्देशन दिए।
सरकारलाई बुझाउनुपर्ने अर्बौं रुपैयाँ बक्यौता नतिर्ने र अनुमतिपत्रको अवधि सकिएपछि पनि सेवा तथा व्यवसाय विस्तार गर्ने प्रवृत्तिप्रति तिमिल्सिनाले असन्तुष्टि व्यक्त गरे।





