काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने र दुई सीमापार प्रसारण लाइन निर्माण गर्ने सहमति

ड्रागन मिडिया सम्वाददाता
नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने र दुई नयाँ सीमापार विद्युत प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशले तल्लो अरुण जलविद्युत आयोजनाको संयुक्त शिलान्यास पनि गरेका छन्।




मन्त्रालयका अनुसार हाल एकतर्फी रहेको बी३४५ हवाई मार्गलाई दुवै दिशामा उडानका लागि प्रयोग गर्ने सहमति भएको हो। यो व्यवस्था कार्यान्वयन भएपछि विभिन्न देशका शहरसँग नेपालको हवाई सम्पर्क सहज हुने मन्त्रालयको अपेक्षा छ। उडान दूरी छोटिँदा इन्धन खपत घट्ने, यात्रुलाई लाभ पुग्ने र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ। दुईतर्फी उडान शुरु हुने मिति भने मन्त्रालयको विवरणमा खुलाइएको छैन।




ऊर्जा क्षेत्रमा भएको सहमतिअनुसार नेपालको इनरुवादेखि भारतको न्यू पूर्णियासम्म र नेपालको दोधारादेखि भारतको बरेलीसम्म विद्युत प्रसारण लाइन निर्माण गरिनेछ। दुवै लाइन संयुक्त उद्यममार्फत निर्माण गर्ने सहमति भएको हो।




मन्त्रालयका अनुसार यी प्रसारण लाइनले नेपाल र भारतका विद्युत सञ्जालबीच थप सम्पर्क स्थापित गर्नेछन्। यसबाट नेपालको ऊर्जा सुरक्षा सुदृढ हुने र दुई देशबीचको विद्युत व्यापारसँगै क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा पनि सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।





